नारायणीमा पनि पानीको बहाव कम हुँदै
नवलपरासी । नवलपरासीस्थित नारायणी नदीमा पानीको बहाव घट्दै गएको छ । आइतबार राति खतराको संकेतनजिक पुगेको नारायणी नदीमा पानीको बहाव आज बिहानबाट विस्तारै घट्दैै गएको छ ।
नदीमा पानीको बहाव ७ दशमलब तीन मिटर भएमा खतराको संकेत मानिन्छ । आइतबार राति करिब नदीमा पानीको बहाव ७ दशमलव तीन मिटर भए पनि बिहान झरेर करिब ५ दशमलब ८६ मिटर भएको नवलपरासीका प्रजिअ उदयबहादुर रानामगरले जानकारी दिए ।
नेपालको बाटो हँुदै जाने भारतीय नहर बन्द गरिएको छ भने गण्डक ब्यारेजका सबै ढोका खोलिएपछि नदीको बहाव विस्तारै कम हुँदै गएको छ । अहिले गण्डक ब्यारेजका सबै ढोका खोलिएको अवस्था छ ।
अहिले नारायणी नदी आसपासका क्षेत्रमा समस्या देखिएको छैन । यद्यपि, जिल्लामा हुनसक्ने अप्रिय घटनालाई ध्यानमा राखी राहत र उद्धारलाई तयारी अवस्थामा राखिएको प्रजिअ रानाले जानकारी दिए ।
बाढी आउने क्रम अझ बढ्दै भयो भने थप खतरा हुनसक्ने अनुमान गरिएको छ । नदीमा पानीको बहाव ८ दशमलव ४ मिटर पुगेमा उच्च जोखिम मानिन्छ । पहाडी क्षेत्रमा लगातार वर्षा हुँदा नारायणीमा पानीको बहाव खतराको संकेत नजिक पुगेको हो ।
यसैबीच वर्षाका कारण नवलपरासीको राजमार्ग क्षेत्रका बजार, सदरमुकाम परासीसहित जिल्लाको ग्रामीण क्षेत्रका गाउँमा स्थानीयवासी प्रभावित बनेका छन् । शहर केन्द्रितभन्दा ग्रामीण क्षेत्रमा वर्षाका कारण जनमानसको जीवनयापन थप कष्टकर बन्दै गएको छ ।
नारायणी नदीका वन्यजन्तु फेला
यसैगरी नवलपरासीस्थित नारायणी नदीका वन्यजन्तु फेला परेका छन् । कुनै जीवित अवस्थामा कुनै मृत अवस्थामा फेला परेका हुन् ।
नारायणी नदीमा पानीको बहाव बढ्दै गएपछि गँैडा, मृग, हरिण, जरायो, बंँदेल, स्यालजस्ता वन्यजन्तु फेला परेका हुन् ।
नारायणीमा बढदै गएको पानीमा बग्दै आएको एक गैँडा नारायणी नदीको १६ नम्बर ठोकरमा बाहिर निस्किन सफल भएको छ । जीवित फेला परेका वन्यजन्तुलाई प्रहरीमा बुझाइएको छ ।
ती सबै जनावर वर्षाको भेलका कारण राष्ट्रिय निकुन्जबाट पानीले बगाएर नारायणी नदी ल्याएका हुन् । तर कति संख्यामा वन्यजन्तु बगाएर ल्याएको कुनै यकिन तथ्यांक भने छैन् ।
सो गैँडा नर्सहीस्थित उखुबारीमा बसेको स्थानीयवासी आरपी उपाध्यायले जानकारी दिनुभयो । उपाध्यायका अनुसार यसबाहेक मृग, हरिण, जरायो, बँदेल, स्यालजस्ता वन्यजन्तु फेला परेका छन् केही वन्यजन्तु मरेको अवस्थामा नदीमा देखिने गरेको पाइएको छ ।
Narayani