News

उद्धार र राहत वितरणमा ढिलासुस्ती भएको नेता खनालको आरोप

उद्धार र राहत वितरणमा ढिलासुस्ती भएको नेता खनालको आरोप

सुर्खेत । पहाडमा पहिरो र तराईमा बाढीले आक्रान्त पार्दासमेत सरकारले उद्धार तथा राहत वितरण कार्यमा ढिलासुस्ती भएको नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले आरोपे लगाएका छन् ।

प्रेस चौतारी नेपाल शाखा सुर्खेतले आज वीरेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले साठीभन्दा बढी नागरिकको मृत्यु, हजारौँ परिवार विस्थापित तथा प्रभावित हुँदासमेत सरकारले युद्धस्तरमा काम नगरेको बताए ।

उनले नेपाल–भारत सीमा नदीमा भारतले बनाएको बाँधले तराई डुबानमा परेको बताए । वर्षात् हुने क्रम जारी रहेकाले तत्काल सिमानामा बनाइएका बाँधका ढोका खोल्न भारत सरकारसँग संवाद थाल्न पनि उनले सरकारसँग आग्रह गरे ।

यस्ता समस्या भविष्यमा आउन नदिन दीर्घकालीन योजना बनाउन भारतसँग नेपाल सरकारले कूटनीतिक पहल थाल्न आवश्यक रहेको उनले उल्लेख गरे । आगामी माघ ७ गतेसम्म बाँकी दुई चरणका निर्वाचन गरिसक्नुपर्ने बाध्यता भए पनि सरकार संवैधानिक संकट निम्त्याउने खेलमा लागेको आरोप पनि उनले लगाए ।

संविधान संशोधन गर्नै नहुने पक्षमा एमाले नरहेको स्पष्ट पार्दै नेता खनालले संविधान कार्यान्वयनभन्दा सरकारले संशोधनलाई प्रमुख एजेण्डा बनाएर समय खर्चिरहेको बताए । एक्काइसौँ दिनदेखि आमरण अनशनमा बस्नुभएका डा.गोविन्द केसीका माग सम्बोधन नगरिनु दुःखद भएको टिप्पणी गर्दै उनले सरकारलाई तत्काल केसीका मागप्रति संवेदनशील भएर वार्ता गर्न पनि आग्रह गए ।

विशेष