News

लगातारको वर्षाले उद्योगमा क्षति

लगातारको वर्षाले उद्योगमा क्षति

बुटवल । लगातारको झरी र बाढीका कारण यहाँका उद्योगमा क्षति पुगेको छ । बुटवल, भैरहवालगायत यस क्षेत्रका धेरै उद्योग झरी र बाढीले प्रभावित भएका छन् । बुटवल औद्योगिक क्षेत्र उद्योग सङ्घका कार्यवाहक अध्यक्ष हिरामणि भट्टराईले क्षतिको सबै विवरण संकलनको काम भइरहेको बताए । यहाँका करिब १० वटा उद्योगमा बढी क्षति पुगेको छ ।

बुटवल औद्योगिक क्षेत्रमा हाल ६५ वटा उद्योग छन् । बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका प्रमुख तुलबहादुर रानाले उद्योगका मेसिन भित्रसम्म पानी पसेपछि केही उद्योगमा उत्पादन बन्द भएको बताए । सबैतिरको क्षतिको विवरण संकलन गर्ने काम जारी छ ।

लुम्बिनी इलेक्ट्रिक, इन्टरटेक, एग्रो इन्जिनियरिङ, एग्रो एफरमिक, एचके, मनकामना हाइड्रोलगायत उद्योगमा बढी क्षति पुगेको छ । यहाँका उद्योगमा बाढी पसेपछि बिजुलीको मिटरसेट, पम्प, मटर, कच्चा पदार्थ तथा उत्पादन भएका सामान समेत नष्ट भएका छन् । पूर्ण क्षमतामा कुनै पनि उद्योग नचलेका उद्योगी रामप्रसाद बस्यालले जानकारी दिनुभयो ।

बाढीले बुटवल–१३, बेलबास बँदेलपोखरीको सुपर क्वालिटी मासु प्रशोधन उद्योगमा बढी क्षति पुगेको छ । यहाँ रु ७० लाख बराबरको क्षति पुगेको सो उद्योगका सञ्चालक कृष्णप्रसाद पौडेलले बताए । बुटवल, भैरहवा, देवदह क्षेत्रका राजमार्गमा रहेका उद्योगमा पानी पस्दा क्षति पुगेको छ ।

विशेष