किन भयो उत्तर कोरिया लचिलो ? तत्काल अमेरिका नियन्त्रित्र गुआममा हमला नगर्ने घोषणा
प्योङयाङ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनले अमेरिकी नियन्त्रणमा रहेको प्रशान्त महासागरीय द्वीप गुआममाथि तत्काल आक्रमण नगर्ने निर्णय लिएका छन् । गुआममाथि हुने भनिएको सम्भावित हमलाबारे लामो समीक्षापछि उनको यस्तो निर्णय बाहिर आएको हो ।
उत्तर कोरियाली सरकारी मिडियाले किम जोङ–उनले लामो समीक्षापछि तत्काल गुआममाथि आक्रमण स्थगित गर्ने निर्णय गरेको जनाएको छ । केसीएनएका अनुसार किम जोङ–उनले धेरै लामो समयसम्म गुआममाथि हमला योजनाको समीक्षा गरेपछि यसबारेमा वरिष्ठ सैनिक अधिकारीहरूसँग यो योजनाका बारेमा छलफल गरेका थिए ।
केसीएनएका अनुसार उत्तर कोरियाका रणनीतिक फोर्स कमान्डरले हमलाको तयारी गरेपछि स्वीकृति पर्खिरहेका थिए । तर किम जोङ–उनले यसबारेमा कुनै पनि निर्णय गर्नुअघि अमेरिकी गतिविधि नियाल्ने निर्णय गरेका हुन् ।
विश्लेषकहरूले भने उत्तर कोरिया हमलाका लागि पूरा तयार नभएको र त्यसका लागि तयारी पूरा गर्ने समय जुटाइरहेको हुन सक्ने बताएका छन् । कतिपयले भने केही समयको वाकयुद्धपछि उत्तर कोरिया केही शान्त भएको अवस्थाका रूपमा समेत यसलाई विश्लेषण गरेका छन् ।
यद्यपि उत्तर कोरियाजस्तो रहस्यमयी देशका बारेमा गरिएका भविष्यवाणीमा पूर्ण रूपमा विश्वास गर्न कठिन छ । दक्षिण कोरियाका राष्ट्रपति मुन जे–इनले अमेरिकासँग कोरियाली प्रायद्वीपमा आक्रमण गर्नुअघि आफ्नो देशसँग स्वीकृति लिन आग्रह गरेका छन् ।
तर उत्तर कोरियाले गुआममाथि हमला गरेको अवस्थामा उसको कुनै सहमतिबिना नै अमेरिकाले आक्रमण गर्न सक्ने अनुमान गरिएका बेला दक्षिण कोरियाली राष्ट्रपतिको भनाइ बाहिर आएको हो । उनले सोमबार मात्रै पनि कोरियाली प्रायद्वीपमा शान्ति स्थापनामा जोड दिएका थिए । उत्तर कोरियाले लामो समयदेखि दक्षिण कोरियालाई अमेरिकाको पिछलग्गु बनेको आरोप लगाउँदै आएको छ ।