चीनको चासो : डोक्लाम मुद्दामा नेपालको तटस्थता कायमै होस्
काठमाडौं । चीनले डोक्लाम मुद्दामा नेपालको तटस्थता कायमै रहोस् भन्ने चाहना राखेको छ ।
जानकार कूटनीतिक स्रोतका अनुसार नेपालले डोक्लाम मुद्दामा यतिबेला लिएको पोजिसनलाई चीनले सकारात्मक रूपमा लिएको छ ।नेपालले डोक्लाम मामिलामा तटस्थता कायमै राखोस् भन्ने आग्रह गर्नु पनि चिनियाँ उपप्रधानमन्त्री वाङ याङको जारी नेपाल भ्रमणको एउटा एजेन्डा रहेको भ्रमणबारे जानकार एक कूटनीतिक अधिकारीले बताए ।
प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणमा डोक्लम समस्याबारे छलफल तथा भ्रमणपछि आउने संयुक्त वक्तव्यमा उल्लेख नहोस् भन्ने चिनियाँ चाहना देखिएको अधिकारीहरूले बताए ।
‘डोक्लाम चीनको भूभाग हो । चीनले सडक बनाउँदै गर्दा भारतीय सैनिकले हस्तक्षेप गरी निर्माण कार्यमा अवरोध गरेपछि मात्र डोक्लाममा तनाव देखिएको हो । नेपालले यस मामिलामा आफ्नो तटस्थ नीति कायम राखोस् र प्रधानमन्त्री देउवाको भारत भ्रमणमा यो मुद्दा नबनोस् भन्ने चीन चाहन्छ,’ एक चिनियाँ अधिकारीले भने ।
ती चिनियाँ अधिकारीले चीनले नेपालसँग डोक्लाम मुद्दामा नेपालको समर्थन नखोजेको बताए । चीन र भुटानबीच डोक्लाम क्षेत्रमा देखिएको सीमा विवादमा भारतीय सैनिक हस्तक्षेपपछि उत्पन्न तनावले चरम रूप लिएसँगै चीन र भारतबीच सीमायुद्ध हुन सक्ने आशंका व्याप्त भएका बेला चिनियाँ उपप्रधानमन्त्रीको नेपाल भ्रमण भएको छ ।
अन्नपूर्ण पोस्ट