News

एकद्वार प्रणालीबाट राहत बाँड्नुपर्नेमा जोड

एकद्वार प्रणालीबाट राहत बाँड्नुपर्नेमा जोड

काठमाडौँ । प्राकृतिक विपद्बाट प्रभावितहरुका लागि विभिन्न क्षेत्रबाट संकलित राहत गरी एकद्वार प्रणालीबाट वितरण गर्नुपर्नेमा जोड दिइएको छ ।

गणेशमान सिंह अध्ययन प्रतिष्ठानद्वारा ‘बाढीपहिरो पीडितलाई हामी सबैले कसरी सहयोग गर्न सक्छौँ ?’ भन्ने विषयमा बुधबार आयोजित एक अन्तरक्रियामा सहभागी वक्ताले गैरसरकारी संस्था तथा निजी क्षेत्रले सरकारसँग समन्वय गरी विपद्मा परेका नागरिकलाई सहयोग उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

नेपाल इन्जिनियर एसोसिएसनका अध्यक्ष हरेराम श्रेष्ठले पीडितलाई अहिले धेरै किसिमको सहयोगको खाँचो रहेको भए पनि प्रारम्भिक चरणमा उनीहरुलाई स्वस्थ्य पिउने पानी तथा सुख्खा खानेकुराको व्यवस्था गर्नुपर्ने बताए ।

पूर्वराजदूत केदार भक्त माथेमाले प्रभावितलाई तात्कालिक रुपमा सक्दो राहत बाँड्नुपर्ने र दीर्घकालमा सरकारले कूटनीतिकरुपमा भारतका व्यारेज खोल्न पहल गर्नुपर्ने सुझाव दिएका छन् ।

प्रतिष्ठानका अध्यक्ष नवीन्द्रराज जोशीले केही दिनदेखि अविरल परेको झरीले पहाडमा पहिरो तथा तराईमा बाढी आई पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रतिष्ठानले स्थानीय प्रशासनसँग आवश्यक समन्वय र सहकार्य गरी पीडितलाई सहयोग उपलब्ध गराउने जानकारी दिएका छन् ।

वरिष्ठ पत्रकार कनकमणि दीक्षितले सहयोगका लागि संकलित राहत एकद्वार प्रणालीबाट वितरण गर्नुपर्ने विचार व्यक्त गरे ।

वरिष्ठ प्रहरी उपरीक्षक नारायण खड्काले विगत केही दिनयता आएको वर्षा र बाढीले बाढीपहिरो र डुबान निम्तिएर हालसम्म १२२ जना नागरिकको मृत्यु भएको जानकारी दिए ।

विशेष