राहत पाउनेको सूचीमै छैन कोसीमा बगाइएका कमलुको परिवार
सप्तरी । लगातार वर्षाका कारण मंगलबार मृत्यु भएका र कोसी नदीमा बगाएर सद्गत गरिएका बालक कमलु सदाका बुबा फुदन सदा बोल्न सक्ने अवस्थामा छैनन् ।
छोराको काजक्रियाका लागि मंगलरबार उनी धरानबाट पैदल हिँडेर घर आइपुगेका थिए । ‘मसँग एक रुपैयाँ पनि थिएन, त्यसैले रात दिन हिँडेर उनी घर आइपुगें,’ विह्वल अवस्थाका फुदनले सुनाए। मृतक छोराको सद्गद् गर्ने खाली जमिन नभएपछि कोसीमा बगाइएको थियो । जमिनको अभाव मात्र होइन, फुदनसँग छोराको काजक्रिया गर्ने पैसा पनि छैन । यो अभावले फुदन परिवारलाई थप पीडा दिएको छ । उनले पालमुनि बसेर काजक्रिया सुरु गर्ने तयारी गरेका छन् । ‘एक हप्ता अघि काम गर्न म धरान जाँदा छोरो राम्रो थियो, बाढीले खाइदियो,’ उनले भक्कानिँदै भने, ‘अब काजक्रियाका लागि पैसासमेत छैन ।’
कमलुको मृत्यु भएदेखि उनकी आमा विमली अर्धबेहोस छिन् । श्रीमानसँगै पुगेकी उनले त्यहाँ बाढीले बर्बाद गरेको आफ्नो घरतिर हेर्नै सकिनन् । सदाको घर वरिपरि पानी कम भए पनि अझै केही दिन बस्न सक्ने अवस्थामा छैन ।
त्यसैले पालमै बसेर काजक्रिया गर्ने तयारीमा लागेका हुन् । बिरामी परेका कमलुलाई उपचारका लागि सीमा पारी भारत कुनौली बजार पुर्याइएको थियो । ‘कुनौली लैजादा मसँग छाता थिएन, पानीमा भिज्दै लगेका थियौं,’ बिमलीले भनिन् । अस्पतालमा आमाको काखमै कमलुको मृत्यु भएको थियो । त्यही दिन फुदनका भाइले कोसीमा बगाएर सद्गत गरेका थिए । ‘बच्चालाई सद्गत गर्ने ठाउँ थिएन, अनि देवरले कोसी नदीमा बगाइदिनु भयो,’ छोराको अन्तिम अवस्थाबारे विमलीले सुनाइन् ।
कोइलाडीको मुसहर बस्तीमा पानीको सतह केही घटे पनि मंगलबारसम्म जलाम्य नै छ। यहाँका बासिन्दा हुमाननगर कुलौनी सडकको दुवैतिर आश्रय लिएर बसेका छन्। फुदनको घरमा पुग्दा आफन्तहरुले सान्त्वना दिइरहेका थिए। उनका आफन्त नै बाढीबाट पीडित भएकाले थप राहत दिनसक्ने अवस्थामा छैनन्। सप्तरीमा मुसहर आर्थिकलगायत सबै हिसाबले पछि परेका समुदाय हुन्। वर्षाकै कारण मृत्यु भए पनि कमलुको परिवारलाई सरकारले राहत पाउनेको सूचीमा राखेको छैन ।
कान्तिपुर