सर्वोच्चमा ‘वरिष्ठ अधिवक्ता’ को लर्को
काठमाढौं । केशवप्रसाद मैनालीले न्यायाधीशका रूपमा अवकाश पाएको तीन वर्ष पनि बितेको छैन । पुनरावेदन अदालत नेपालगञ्जबाट २०७१ मा अवकाश पाएका उनले गत साता वरिष्ठ अधिवक्ताको उपाधि पाए । अधिवक्ता रामेशविक्रम कार्की अमेरिका बसेको दुई दशक पुग्न लाग्यो । नेपालमा कानुन व्यवसायमा सक्रिय छैनन् तैनपनि उनलाइ सर्वोच्च अदालतको पूर्ण बैठकबाट वरिष्ठ अधिवक्ताको उपाधि दिइयो ।
वरिष्ठ अधिवक्ताकै सूचीमा रहेका ध्रुवलाल श्रेष्ठ दक्षिणी सुडानमा संयुक्त राष्ट्रसंघीय मिसनमा विज्ञका रूपमा कार्यरत छन् । अर्का अधिवक्ता नारायणप्रसाद घिमिरेले अमेरिकाबाट फर्केको दुई वर्षमै वरिष्ठ अधिवक्ताको उपाधि पाए । लामो समयदेखि वकालतमा सक्रिय तथा समाजमा योगदान गरेका निश्चित कानुन व्यवसायीले पाउनुपर्ने यो उपाधिमा सर्वोच्चले यो पटक गुणात्मकभन्दा संख्यालाई जोड दिएको छ ।
सर्वोच्च अदालतले साउन २५ मा दुई सय ७२ कानुन व्यवसायीलाई ‘वरिष्ठ अधिवक्ता’ उपाधि दिने निर्णय गरेको हो । सूचीमा राजनीतिमा सक्रिय तर कानुन व्यवसाय छोडिसकेका केही अनुहारसमेत छन् । पूर्वमन्त्री एवं कांग्रेसका नेता रमेश लेखक मात्र होइन द्वन्द्वकालदेखि माओवादीमा सक्रिय हाल चन्द माओवादीका केन्द्रीय सदस्य एकनारायण भण्डारी पनि वरिष्ठ अधिवक्ताको सूचीमा छन् । सूची हेर्दा कतिपय नाम अस्वाभाविक रूपमा समावेश गरिएका छन् । केही कानुन व्यवसायी योग्य र इमानदार भएर पनि परेका छैनन् ।
नेपाल कानुन व्यवसायी परिषद् ऐन, २०५० मा वरिष्ठ अधिवक्ता हुन मुख्य तीन प्रावधान उल्लेख छ। जसअनुसार सर्वोच्च वा पुनरावेदन ९हाल उच्च० अदालतमा १५ वर्ष वकालत गरेको र पेशाको मर्यादा राखेको हुनुपर्ने शर्त ताकिएको छ।
कान्तिपुर