उपराष्ट्रपति पुत्र दिपेश पुनद्वारा सदा परिवारलाई आर्थिक सहयोग
राजविराज । बाढीले बगाएर सप्तरीमा मृत्यु भएका कमलु सदाका परिवारलाई उपराष्ट्रपति पुत्र दिपेश पुनले आर्थिक सहयोग गरेका छन् । उनले किरिया खर्चबापत रु २० हजार नगद र खाद्यान्न राहत सहयोग गरेका हुँन् ।
बालक कमलु सदाको मृत्यु भएपछि गाड्नका लागि खाली जमिन नभएकाले उनको परिवारले कोशी नदीमा शव बगाएका थिए । पैसा नभएर मर्कामा परेका रामको परिवारलाई आफ्नो व्यक्तिगततर्फबाट रु २० हजार सहयोग गरेको पुनले बताए । साथै पीडित परिवारलाई उनले दाल, चामल, नून, तेललगायतका खाद्यान्न सहयोग गरेका छन् ।
त्यसैगरी मृतक बालकका परिवारलाई नेपाल तरुण दलले पनि किरिया खर्चबापत रु २५ हजार प्रदान गरेको छ । तरुण दल केन्द्रीय सभापति जितजङ बस्नेतले पठाएको सो रकम एक कार्यक्रमबीच तरुण दलका जिल्ला सभापति अर्जुनकुमार यादवले मृतकका बुबा फुदन सदा र आमा विमली सदालाई प्रदान गरेको बताइएको छ ।
बाढीबाट सप्तरीमा छजनाको मृत्यु
यसैगरी एक हप्ता अगाडि वर्षासँगै आएको बाढीका कारण सप्तरीमा हालसम्म छजनाको मृत्यु भएको छ ।
सप्तरीमा बाढीबाट मृत्यु हुनेहरुमा राजविराज नगरपालिका–१५ देउरी भरुवाका डोमी यादव, तिलाठी कोइलाडी गाउँपालिका वडा नं ६ साविकको कोइलाडी निवासी पाँच वर्षीय कमलु सदा, शम्भुनाथ नगरपालिकाका सदा थरका ११ वर्षीय एक बालक, डाक्नेश्वरी नगरपालिका वडा नं ८ गम्हरिया प्रवाहा निवासी ६५ वर्षीय नथुनी राम बेल्ही चपेना गाउँपालिका–४ का ३२ वर्षीय कमला मुखिया र सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–३ स्थित महुली खोलामा भैँसी चराएर घर फर्किंदै गरेको स्थानीयवासी ५५ वर्षीय महेन्द्र रामको मृत्यु भएको छ ।
घरदेखि उत्तरतर्फको पलारबाट भैँसी चराएर घर आउने क्रममा सो खोलामा लडेपछि उनको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।
यस्तै कमलु सदाको बाढीको पानीमा उपचारको अभावमा मृत्यु भएको परिवारजनले बताएका छन् । मृतक सदाको अन्तिम संस्कार गर्ने ठाउँ नपाएपछि उनको काकाले कोशीको पानीमै बगाएको थियो ।
यसअघि गत बिहीबार खाँडो खोलामा सेना र प्रहरीसँग तटबन्ध रोकथाम गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर राजविराज नगरपालिका १५ देउरी भरुवा गाउँका ५५ वर्षीय डोमी यादव बेपत्ता भएका थिए । यादवको शव हालसम्म फेला नपरेको प्रहरीको भनाइ छ ।