News

बाढीपहिराेले खानेपानीको पाइप बगाएपछि हाहाकार

बाढीपहिराेले खानेपानीको पाइप बगाएपछि हाहाकार

मोरङ । बाढी र पहिराले पाइप बगाएपछि लेटाङ नगरपालिकास्थित जाँतेमा खानेपानीको हाहाकार भएको छ । लेटाङ– ८ र ९ स्थित जाँतेमा गत शनिबारको बाढीपहिराले खानेपानीको पाइप बगाएपछि स्थानीयवासी एक सातायता खोलाको धमिलो पानी पिउन बाध्य छन् ।

अविरल वर्षासँगै खसेको पहिरो र तेली खोलामा आएको बाढीले जाँते खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको पाइप बगाएको समितिका अध्यक्ष डिल्ली विश्वकर्माले जानकारी दिए । उनको अनुसार बाढी र पहिराले १० ठाउँमा पाइप बगाएको छ ।

विसं २०३९ देखि सञ्चालित खानेपानी योजनाको पाइप बगाएपछि जाँतेका १ हजार ५ सय घरधुरी खानेपानीको सुविधाबाट वञ्चित छन् । बाढीले ३ हजार ५ सय मि पाइप बगाएको हो ।

तत्कालै पाइप जोड्न सक्ने अवस्था नरहेको र गाउँले मिलेर केही स्थानमा पाइप जोडे पनि वर्षा भइरहेकाले फेरि खोलाले भत्काएको अध्यक्ष विश्वकर्माले बताए । तेली खोलाको मुहानबाट ल्याइएको पानी स्थानीयवासीलाई वितरण गरिएको छ ।

विशेष