News

बढ्ने भयो विद्युत् महसुल, घरायसी उपभोक्तालाई असर नपर्ने

बढ्ने भयो विद्युत्  महसुल, घरायसी उपभोक्तालाई असर नपर्ने

साउन १७ । विद्युत् महसुल निर्धारण आयोगले विद्युत् महसुल वृद्धि गर्ने वा नगर्ने भन्ने विषयमा अध्ययन सुरु गरेको छ ।  

विद्युत् प्राधिकरणले यही साउन ६ गते महसुल वृद्धि गर्नका लागि आयोगमा प्रस्ताव पेश गरेको थियो । आयोगका अध्यक्ष जगत भुसालले दिएको जानकारी अनुसार सोमबार बसेको पूर्ण बैठकले प्राधिकरणले प्रस्ताव गरेको महसुल वृद्धिको विषयमा प्रारम्भिक छलफल गरेको छ। सोमबारको पूर्ण बैठकमा यो विषयले प्रवेश पाएको छ, उनले भने, आउँदो बैठकमा आफ्ना राय, सल्लाह र धारणा राख्ने गरी आयोगका सबै सदस्यलाई प्रस्ताव अध्ययन गर्ने समय दिइएको छ ।  

सोमबारको बैठकमा आयोगले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पनि छलफलका लागि बोलाएको छ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले भने,प्राधिकरणको प्रस्तावमाथि आयोगले छलफल सुरु गरेको छ । चाँडै निर्णयमा पुग्ने प्राधिकरणले विश्वास लिएको छ । अर्को बैठक दुई सातापछि राखिएको छ। प्राधिकरणले आयोगमा १६ प्रतिशत हुने गरी साधारण घरायसी ग्राहकलाई थप भार नपर्ने गरी नयाँ विद्युत् महसुल प्रस्ताव गरेको छ ।

प्रवक्ता अधिकारीका अनुसार अहिले प्रस्ताव गरिएको महसुल वृद्धिको प्रस्तावले घरायसी उपभोक्तालाई कुनै असर नपर्ने तर औद्योगिक उपभोक्तालाई भने उपभोग युनिट अनुसार २० प्रतिशतसम्म असर पर्ने छ । घरायसी ग्राहकले औसतमा १० युनिट विद्युत् प्रयोग गर्ने गरेको अध्ययनबाट देखिएकोले प्राधिकरणले ती वर्गका ग्राहकले ६० रुपैयाँमात्रै महसुल तिर्ने गरी प्रस्ताव गरेको हो । घरायसी प्रयोगकर्ताले बिजुली प्रयोग गरे वा नगरे पनि ३० रुपैयाँ अनिवार्य तिर्नुपर्ने प्रस्ताव यस पटक गरिएको छ । नयाँ प्रस्तावमा १० युनिटसम्म प्रयोग गर्नेलाई प्रतियुनिट तीन रुपैयाँ, ४० युनिटसम्म प्रयोग गर्नेलाई प्रतियुनिट सात रुपैयाँ त्यसैगरी ४० युनिटभन्दा बढी प्रयोग गर्नेलाई प्रतियुनिट १२ रुपैयाँ प्रस्ताव गरिएको छ । प्राधिकरणका अनुसार करिब ३० लाख ग्राहकमध्ये ७५ प्रतिशत बढी ग्राहक घरायसी छन् भने बाँकी औद्योगिक छन् ।

गोरखापत्र

विशेष