सुतेकै अवस्थामा ढुंगाले घर थिच्यो, तीनजनाको मृत्यु
साउन १७ । बेलुकीको खाना खाएर परिवारका सबै सदस्य एउटै ओछ्यानमा सुते । भोलिपल्ट बिहानै उठेर घरधन्दामा जुट्ने उनीहरूको योजना थियो । सबैजना मस्त निदाएका थिए । मध्यराति घरमाथिबाट ठूलो ढुंगा खस्यो । ढुंगाले घर नै च्यापेपछि उनीहरू भाग्नै पाएनन् । छिमेकी पुग्दा तीन जनालाई मृत भेट्टाए । दुई जनाको भने बेहोस अवस्थामा उद्धार भयो ।
कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकामा आइतबार मध्यराति भएको यो घटनाले स्थानीय बासिन्दालाई स्तब्ध बनाएको छ । गाउँपालिकाको वडा नम्बर ६ स्थित काव्रा गाउँमा घरमाथि भीरबाट खसेको ढुंगाले च्याप्दा तीन जना बालबालिकाको ओछ्यानमै ज्यान गएको हो । घटनामा स्थानीय बुदे सार्कीका दुई छोरी र एक छोराको मृत्यु भएको छ । एउटै ओछ्यानमा सुतेका बुदे र उनकी श्रीमती बेलुलाई भने छिमेकीले घाइते अवस्थामा उद्धार गरेका छन् । १० वर्षीया ललिता, आठ वर्षीय लंकबहादुर र पाँच वर्षीया कल्पनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही वडाका वडाध्यक्ष रंगबहादुर सार्कीले भने, ‘परिवारका सबै जना एउटै ओछ्यानमा सुतेका रहेछन्, बच्चालाई बचाउन सकिएन । बाबुआमालाई मात्र घाइते अवस्थामा बाहिर तान्यौं, उनीहरूको पनि अवस्था गम्भीर छ ।’
बुदे बोल्न सक्ने अवस्थामा छैनन् । तर, कम्मरमुनिको भाग नचल्ने अवस्थामा उद्धार गरिएकी बेलुलाई शरीरको चोटले भन्दा सँगै सुतेका सबै सन्तान गुमाउँदाको पीडाले पोलेको छ । काखैबाट तीन सन्तान खोसिएपछि उनी भक्कानिएकी छन् । पीडाको घाउ थप बल्झिएको छ । बेलुले पोखेको पीडा उद्धृत गर्दै वडाध्यक्ष रंगबहादुरले भने, ‘खाना खाएर एउटै ओछ्यानमा सुतेका थियौं, मेरो घरमा के यस्तो विपत्ति आइलाग्यो रु ओछ्यानबाटै मेरा मुटुका टुक्रा चुँडिए, निस्ठुरी दैवले हामीलाई पनि किन सँगै लगेन ।
अन्नपूर्ण