News

भ्रष्टाचार प्रति भेरी नगरपालिकाका प्रमुख संवेदनशील

भ्रष्टाचार प्रति भेरी नगरपालिकाका प्रमुख संवेदनशील

दीपबहादुर घर्ती

जाजरकोट । विकास निर्माणका काममा हुने भ्रष्टाचार प्रति भेरी नगरपालीकाका प्रमुख चन्द्रप्रकाश (सिपी) घर्ती संवेदनशील बनेका छन् । गाउँमा भैरहेको विकास निर्माणका कामवाट हुने भ्रष्टाचारलाई निर्मुल गर्न भेरी नगरपालिकाका प्रमुख सिपी घर्ती संवेदनशील बनेका हुन ।

“कामै नगरी आयोजनाको भुक्तानी” भन्ने शिर्षकमा एक साता अघि विभिन्न सञ्चार माध्यामवाट प्रकाशित तथा प्रसारित समाचारलाई आधार बनाएर भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश (सिपी) घर्ती सहितको एक टोली बिहिवार भेनपा–.५.मा रहेको ईवर सिंचाई योजनाको स्थलगत अनुगमन गरेका छन् । योजना निर्माण स्थलको अध्ययन, अनुगमन तथा मुल्यांकन पश्चात एक प्रतिवेदन लेखेर सम्बन्धित निकायलाई दिने प्रमुख सिपी घर्तीको भनाई रहेको छ ।

ईवर सिंचाई योजनाको स्थलगत अनुगमनकै क्रममा नगरप्रमुख सिपी घर्तीले पत्रकार तथा सञ्चारगृहलाई धन्यवाद पनि दिए । केहि दिन पहिला “सिपी घर्तीको क्षेत्रमा कामै नगरी भुक्तानी हुन थाल्यो, जनप्रतिनीधिले ध्यान दिन सकेनन् भन्छन जनता” भन्ने शिर्षकमा प्रकाशित तथा प्रसारित समाचारले योजना निर्माणमा हुने भ्रष्टाचार प्रति आफूलाई निकै सम्वेदनशिल बनाएको बताउदै नगरप्रमुख सिपी घर्तीले भने–“समाचार प्रसारित पश्चात जनप्रतिनीधिले चुनावमा गरेको खर्च असुल्न दिनु पर्छ भन्ने जस्ता सामाजिक सञ्जालमा भएका टिक्का, टिप्नी र प्रतिक्रियाले मलाई झनै गम्भीर बनाएको छ ।”

अख्तियार प्राप्त जनप्रतिनीधिलाई जवाफदेही बनाउनका लागि सञ्चारकर्मीले खेलेको भूमिका निकै ठूलो रहेको वताउदै प्रमुख सिपी घर्तीले भने–“आगामी दिनमा आयोजनावाट हुने भ्रष्टाचारलाई निर्मुल गर्न विशेष जोड दिईने छ, नागरिक सेवा प्रवाहमा सहजता र सरलता पैदा गर्न प्रयास गरिने छ, सेवा प्रवाहमा हुने ढिला–सुस्ती–अनियमित्ता जस्ता कुराको पुरै अन्त्य गरिने छ ।”

नगर प्रमुख सिपी घर्ती सहितको एक टोलीले सिंचाई विकास डिभिजन कार्यालय, जाजरकोटद्धारा निर्माण गरिएको ईवर सिंचाई योजनाको स्थलगत अनुगमन गर्दा बिरोधापुर्ण बिषयबस्तुहरु फेला परेका छन् । भेरी नगरपालीकालाई सिंचाई विकास डिभिजन कार्यालय, जाजरकोटले दिएको विभिन्न सञ्चार माध्याममा प्रसारित समाचारवारेमा राय तथा प्रतिक्रियामा ईवर सिचाई आयोजनाको विस्तृत अध्ययन गरी २०७४/१/२५ मा क्षेत्रीय सिंचाई निर्देशनालय सुर्खेतवाट ४९ लाख ५२ हजार ६ सय ४० को लागत इस्टिमेट सहित योजना स्वीकृत भएको उल्लेख गरिएको छ । जसमा ५ लाख ४ हजार ६ सय ३० रुपैयाको उपभोक्त समितिले जनश्रमदान गर्नु पर्ने, कन्टीजेन्सी, भ्याट, अग्रिम आयकर समावेश गरिएको पत्रमा भनिएको छ ।

सिंचाई विकास डिभिजन कार्यालय, जाजरकोटका प्रमुख थलबहादुर तामाङद्धारा हस्ताक्षर गरिएको पत्रमा २०७३/१२/१८ गते इवर सिंचाई उपभोक्ता समितिसंग सम्झौता भएको उल्लेख गरिएको छ । उक्त पत्रमा विभिन्न साईजका ४ वटा आरसिसी रिजर्भ निर्माण गरे बाफत २०७४/२/१७ गते कार्यालयले उपभोक्ता समितिका नाममा १७ लाख ६ हजार ७ सय १६ रूपैया १६ पैसा भुक्तानी दिएको उल्लेख गरिएको छ भने, त्यसैगरी एक आरसिसी टयांकी निर्माण गरे बाफत २०७४/३/१४ गते ७ लाख ४३ हजार २ सय ५० रुपैया ५६ पैसा उपभोक्ता समितिको नाममा भुक्तानी दिएको उल्लेख गरिएको छ । दुई पटक गरी उपभोक्ता समितिको नाममा जम्मा २४ लाख ८९ हजार ४ सय ९७ रुपैया १९ पैसा भुक्तानी दिएको बताईएको छ भने, पाईप खरिदका लागि कुनै रकम भुक्तानी गरिएको पत्रमा उल्लेख गरिएको छैन ।

सिंचाई विकास डिभिजन कार्यालय, जाजरकोटवाट दुई पटक गरी उपभोक्ता समितिको नाममा जम्मा २३ लाख ११ हजार रुपैया मात्र भुक्तानी भएको इवर सिंचाई योजना उपभोक्ता समितिका अध्यक्ष मनवीर रोकायले जानकारी दिए । भुक्तानी भएको आरसिसी रिजर्भ र टयांकी निर्माण गरे वाफतको मात्र नभएर पाईप खरिद तथा ढुवानीको लागि पनि भएको अध्यक्ष रोकायको भनई रहेको छ ।

निर्माण गरिएका रिजर्भ र टयांकी देखि किसानको खेतवारीमा सिंचाई गर्न पानी पुर्याउनका लागि ५ लाख ११ हजारमा २५ मिलिमिटर साईज भएको २५ सय मिटर र ३२ मिलिमिटर साईज भएको ५ हजार मिटर पाईप खरिद गरिएको इवर सिंचाई योजना उपभोक्ता समितिका सचिव कृतीबहादुर केसीले जानकारी दिए । २४ हजार रुपैया पाइप ढुवानीमा रहेको उनले बताएका छन् ।

उक्त योजना सम्बन्धि पत्रकारहरुलाई जानकारी भएर समाचार प्रकाशित भएपछि मात्र पाईप खरिद भएर ढुवानी भएको स्थानियहरुको भनाई रहेको छ । नगर प्रमुख सिपी घर्ती सहित अनुगमनका लागि योजना स्थलमै पुगेको टोलीले सिंचाई परियोजनाका लागि निर्माण गरिएका रिजर्भ, टयांकीमा बालबालिका तथा पशुचौपाए डुब्न सक्ने, तोडफोड हुन सक्ने जस्ता जोखिमतावाट बचाउनलाई रेलिङ्ग, घेराबार गर्नु पर्ने, पोखरीमा भएको पानीलाई सन्तुलित रुपमा बारीमा सिंचाई गर्नका लागि गेटभल्व राख्ने जस्ता कुराहरुको इस्टिमेट गर्नु पर्ने सुझाव राखेको थियो ।

विशेष