News

नेप्लीज मुस्लिम सोसाईटी, यूएईद्वारा बाढीपीडितलाई सहयोग

नेप्लीज मुस्लिम सोसाईटी, यूएईद्वारा बाढीपीडितलाई सहयोग

बर्दिया । अविरल वर्षका कारण बर्दियाको बबई नदीमा आएको बाढीले गुलरिया नगरपालिका वडा नं. ११ र १२ मा ५० घर पूर्ण रुपमा ध्वस्त पारे पनि सरकारी राहत हालसम्म नपुगेको पीडितहरुले गुनासो गरेका छन् ।

तराई मानव अधिकार रक्षक संजाल थर्ड एलायन्स पश्चिम उप क्षेत्रीय कार्यालय नेपालगंजको टोलीले शुक्रबार बर्दियको बाढी प्रभावित क्षेत्रको अनुगमन गरे पछि राहत नपुगेको कुरा बाहिर आएको छ ।

बाढीपीडितहरुले आफूलाई त्रिपाल र झुलको अवश्यकता रहेकोले व्यवस्था गरी दिन माग गरे पछि नेप्लीज मुस्लिम सोसाईटी, यूएईको सहयोगमा थर्ड एलायन्सले शुक्रबार गुलरिया नगरपालिका वडा नं.११ र १२ का ५० जनालाई त्रिपाल र झुल वितरण गरेको छ ।

नेप्लीज मुस्लिम सोसाईटी, यूएईका शाहनवाज अख्तरले भने, ‘राहत कोषमा नगद जम्मा गर्नुभन्दा पीडितको आवश्यकता टार्नु नै अहिलेका लागि निकै गुणा महत्वपूर्ण छ, त्यसैले हामीले पीडितकै घरमा पुगेर राहत वितरण गरिरहेका छौं, ।’

सोसाईटीले बाढीबाट प्रभावित तराईका बिभिन्न जिल्लामा सहयोग प्रदान गरेको छ । बाढी ग्रस्त क्षेत्रहरुको निकै नजिकबाट अध्ययन अनुगमन गर्दै आएको थर्ड एलायन्सले बाढी पिडितहरुका लागि राहत, उपचार र पुर्नवासको व्यवस्था गर्न सरकारलाई दबाब दिदै आएको छ ।

बर्दियाका बाढी पीडितहरुको अवस्था अध्ययन र राहत वितरण गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै थर्ड एलायन्सका उप क्षेत्रीय प्रमुख आलम खानले, खाद्यान्न अभाव भएकाले पीडितहरूमा तत्काल राहत पुर्याउन सरकारलाई दबाब दिने बताए ।

राहत वितरण कार्यक्रममा शक्ति समूहकी मध्यपश्चिम क्षेत्रीय प्रमुख निर्माला पौडेलले, विपत्तिको समयमा मानवीय सहयोगमा हात बढाउनु धेरै प्रसशंनीय कार्य भएको बताउदै ‘सोसाईटी र थर्ड एलायन्सले बढीपीडितहरूलाई तत्काल राहत पुर्याउने प्रयासका साथ पीडितहरू समक्ष पुगेको छ, प्राकृतिक प्रकोपको चपेटामा पर्नु भएका महानुभावहरूलाई आ–आफ्नो ठाउँबाट सहयोग गर्न आव्हान पनि गरेकी थिइन् ।’

उनले बाढी पीडितको तत्कालिन र दिर्घकालिन व्यवस्थापनका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य गरेर अगाडि बढ्न पनि आग्रह गरिन् ।

बाढीपीडितका लागि अहिले नगद पैसा भन्दा पनि खाद्यान्न र ओतको खाँचो भएकाले आफूहरुले सिधै राहत वितरण गरेको थर्ड एलायन्सका उप क्षेत्रीय प्रमुख खानले जानकारी दिए । राहत वितरण कार्यक्रममा मुस्लिम यूवा नेता अब्दुल खान, मानव अधिकार निगरानी समूह खजुरा गाँउपालिकाका संयोजक असलम भाट लगायतको सहभागिता रहेको थियो ।

बर्दियामा गत २८ र २९ गते बबई तथा मान नदी र बिभिन्न खोलानालामा आएको बाढीले झण्डै १७ हजार कृषकका झण्डै ४१ करोड मुल्य बराबरको धान लगायतका कृषिबालीमा नष्ट हुन पुगेको छ ।

विशेष