News

खोज, उद्धार, राहतमा कुनै कसर बाँकी नराखी काम गरिएको छ – रक्षामन्त्री प्रधान

खोज, उद्धार, राहतमा कुनै कसर बाँकी नराखी काम गरिएको छ – रक्षामन्त्री प्रधान

काठमाडौँ । रक्षामन्त्री भीमसेन दास प्रधानले हालको अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानबाट पीडित जनताको उद्धार, राहतका लागि मन्त्रालयका तर्फबाट कुनै कसर बाँकी नराखिएको बताएका छन् ।

साउन २७ देखि परेको अविरल वर्षाबाट तराईका १७ र पहाडका पाँच जिल्लाका जनता पनि प्रभावित रहेको बताउँदै उनले खोज, उद्धार र राहतका कार्यक्रम प्रभावकारी तुल्याउन मन्त्रालयबाट सबै संयन्त्र र जनशक्ति परिचालन गरेको जानकारी दिए ।
हालैको बाढीपहिरो र डुबानका समयमा नेपाली सेनाद्वारा भए÷गरेको उद्धार र खोज कार्यसम्बन्धी प्रयासका बारेमा जानकारी दिन रक्षा मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले प्राकृतिक विपत्तिमा परेका जनताको खोज, उद्धार र सहयोगमा सम्पूर्ण साधन स्रोत तथा जनशक्ति परिचालित गरेर काम गरेको बताए ।

संगठनसँग साधन स्रोत भएर क्षेत्रगत रुपमा तयारीका साथ राख्न नसक्दा व्यवस्थापनलाई चुस्त बनाउन नसकेको बताउँदै प्रधानसेनापति क्षत्रीले भने, “क्षेत्रगतरुपमा पूर्वतयारीका साथ राखिए सजिलो हँुदोरहेछ भन्ने महसुस भएको छ ।

सेना छ वटा हेलिकप्टर र एउटा जहाज खरिदका क्रममा

नेपाली सेनाको हेलिकप्टर क्षमता बढाउनुपर्छ भनी गोर्खा भूकम्पपछि पेश गरिएको योजना कार्यान्वयन गर्ने क्रममा नेपाली सेनाले छ वटा हेलिकप्टर खरिद प्रक्रिया शुरु गरेको छ ।प्रधानसेनापति क्षत्रीले दुई वटा ठूला, दुई वटा मध्यम र दुई वटा साना हेलिकप्टर खरिदको प्रक्रिया अघि बढेको जानकारी दिएका छन् ।

नेपाली सेनासँग भएका ठूला चार वटा एमआइ १७ हेलिकप्टरमध्ये एउटा हेलिकप्टर मर्मतका लागि लिथुनियाँ पठाइएको पनि सो अवसरमा जानकारी दिइयो । “जुनसुकै विपत्ति होस् वा विकास निर्माणमा ठूला हेलिकप्टरको अत्यधिक माग हुँदै आएको छ”– उनले भने ।

सो अवसरमा बाढीपहिरो र डुबानबाट भएको जनधनको क्षति र राहत वितरणका बारेमा जानकारी दिइएको थियो ।

विशेष