१० वर्षीया बालिकाले बच्चा जन्माइन्, तर उनलाई आमा बनेको थाहै छैन
बालिकाका बाबु आमा भन्छन्, उनले जन्माएको बच्चासँग हामीलाई केही चासो छैन
काठमाडौं । भारतमा १० वर्षीया बालिकाले बच्चा जन्माएकी छन् । उनले मिति नपुग्दै बच्चा जन्माएकी हुन् । नवजात शिशुको स्वास्थ्य अवस्था स्थिर छ । बच्चालाई अहिले नर्सरीमा सारिएको छ । नवजात शिशुको तौल २ दशमलव २ किलो छ । चिकित्सकले शल्यक्रियामार्फत बच्चा जन्माएका हुन् । बच्चा जन्माए पनि उनलाई आमा भएको जानकारी भने दिइएको छैन ।
यो भारतको चण्डिगढको यथार्थ घटना हो । आफ्नै काकाले बलात्कार गरेपछि उनको गर्भ बसेको थियो । मध्य जुनमा उनको पेटमा बच्चा रहेको पुष्टि भएको थियो । उनले पेट दुखेको बताएपछि आमा–बाबुले उपचारका लागि अस्पताल लगेका थिए । अस्पतालमा जाँच गर्दा उनी गर्भवती भएको पत्तो लागेको थियो ।
यसअघि गत महिनामात्रै भारतको सर्वोच्च अदालतले यी बालिकाको गर्भपतन गराउन नमिल्ने निर्णय सुनाएको थियो । यी बालिकाको पेटमा शिशु हुर्किइसकेका कारण जबर्जस्ती गर्भपतन गराउँदा उनको ज्यान खतरामा पर्ने चिकित्सकहरुको ठहरका आधारमा चण्डिगढ अदालतले यस्तो निर्णय लिएको थियो । सर्वोच्च अदालतले पनि चण्डिगढ अदालतको निर्णयलाई नै सदर गरेको थियो ।