News

‘सुनौला हजार दिन’बारे शिक्षा दिँदै कर्णालीका आमाहरु

‘सुनौला हजार दिन’बारे शिक्षा दिँदै कर्णालीका आमाहरु

जुम्ला । जुम्ला जिल्लाका ग्रामीण आमाहरु आफ्ना बस्तीका महिलालाई ‘सुनौला हजार दिन’ को महत्वबारे शिक्षा दिन थालेका छन् । तिला गाउँपालिका–३ लुम्सेरा गाउँका आमाहरु ‘सुनौला हजार दिन’ बारे आफैँले शिक्षा दिन थालेपछि विशेषगरी गर्भवती आमा र शिशुको स्वास्थ्य सुरक्षामा सहयोग पुग्दै गएको छ ।

‘सुनौला हजार दिन’ सञ्चार अभियान, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथ सञ्चार केन्द्रले विभिन्न बैठक भेलामा दिएको ज्ञानका सीपका आधारमा शिक्षा दिन थालिएको महावै आमा समूहकी अध्यक्ष कालिका भट्टराईले जानकारी दिइन । “हामी आमा समूहको बैठक राख्छौँ, आमा र शिशुको पोषित कसरी हुन्छन् भनेर पोषणयुक्त खानाका विषयमा छलफल गर्छौं,” अध्यक्ष भट्टराईले बताइन ।

प्रौढ कक्षा पढेर सामान्य आफ्नो हस्ताक्षर गर्नसक्ने समूहका आमा सदस्य सुनेर सिकेका आधारमा सुनौला हजार दिनका विषयमा घर बस्तीमा गएर सिकाउँछन् । आफूहरुले बूढापाका, सासू बुहारीका साथै विवाह गर्न योग्यका जोडीलाई पनि ‘सुनौला हजार दिन’ महत्व र प्रभावबारे बुझाउँदै आएको उनको भनाइ थियो । त्यसमा तिला–३ का स्वयंसेविका सत्यदेवी भट्टराई र देवी गिरीले आमाहरुलाई यसका विषयमा सहजीकरण गर्दै आएको उनको भनाइ थियो ।

स्वयंसेविका देवी गिरीले गर्भवती भएको नौ महिना बराबर २३० दिन र बच्चा जन्मेदेखि दुई वर्षसम्मको ७३० दिन गरेर एक हजार दिन हुन्छ भनेर गाउँका सबैलाई सिकाउँदै आएको बताइन । यो अवधिमा बच्चाको ८० प्रतिशत दिमागको विकास हुने भएकाले यसलाई ‘सुनौला हजार दिन’ भनिएको कुरा प्रष्ट्याउँदै आएको उनको भनाइ थियो ।

त्यसैगरी, स्वयंसेविका सत्यदेवी भट्टराईले ‘हरेक बार, खाना चारदेखि वृद्धि विकास गर्ने, रोग नलाग्ने र शक्ति दिने’ खानाका बारेमा आफ्नो वडाका बस्ती बस्तीमा जानकारी दिँदै आएको बताइन । “हामीले गर्भवास्था र बच्चा दुई वर्ष नहुञ्जेलसम्मका आमालाई, गेँडागुडीको झोल, हरिया सागपात, पहेला फलफूल, अण्डा, माछा, मासु, घ्यू, दूध, दहीजस्ता पोषकतत्व खान र परिवारलाई खुवाउन भन्दै आएका छौँ,” उनले भनिन् ।

उनले गर्भ रहेदेखि नौ महिनासम्म लगतार चार पटक गर्भजाँच गर्न, आइरन चक्की खान, स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी हुन र विभिन्न खोप लगाउनेबारे पनि बुझाउँदै आएको बताइन । त्यतिमात्र नभएर गरिब घर परिवारका गर्भवती महिलालाई घरमा उपलब्ध स्थानीय अन्न गेँडागुडी, सागपात र अन्य चीज मिलाएर खान सुझाव दिएको उनको भनाइ थियो ।

यता डेढ वर्षीय बच्चाकी आमा रामदेवी हमालले पछिल्लो समयमा स्वयंसेविका र सुनौला हजार दिन कार्यक्रमले हामी आमा र बच्चालाई स्वस्थ हुन सहयोग पुगेको बताइन । सुत्केरी आमा पशुपति शाहीले ‘सुनौला हजार दिन’ कार्यक्रमले बच्चासहित कर्णालीका आमाहरुको स्वास्थ्य सुरक्षामा निकै ठूलो सहायता पुगेको जनाइन ।

सुनौला हजार दिन सञ्चार अभियान जुम्लाका जिल्ला संयोजक धर्मराज शाहीले कार्यक्रम लागू भएका साविकका १० गाविसमा राम्रो प्रभाव पर्दै गएको बताए । उनले विशेषतः गर्भमा रहेदेखि नौ महिनाका महिला र दुई वर्ष उमेर पुगञ्जेलसम्मका बच्चा र आमाको स्वास्थ्य अवस्था सुरक्षित गर्न यो कार्यक्रम सञ्चालन गरिएको जनाए । “पछिल्लो समयमा यहाँका महिलाको चासो, सक्रियता र जागरुकताले कार्यक्रम प्रभावकारी बन्दै गएको छ,” उनले भने ।

उनले थपे, “अभियान सञ्चालन भएका गाविसका आमाहरुलाई हामीले सन्तुलित भोजनका लागि के खाने भन्ने कुरा सिकाउनु पर्दैन, बरु यी तत्व कमी हुँदा आमा र बच्चा कुपोषित हुन्छन् भनेर हामीलाई तर्क गर्छन्, ।” उनको अनुसार जुम्लाका साविकका छुमचौर, गज्र्याङ्कोट, तलिउम, तातोपानी, कुडारी, रारालिही, घोडेमहादेव, महावैपाथरखोला, कालिकाखेतु र बड्की गाविसमा सञ्चालित यो कार्यक्रमअन्तर्गत १४५ गर्भवती महिलाको पोषण सुरक्षामा ध्यान दिइएको छ ।

वरिष्ठ जनस्वास्थ्य अधिकृत अंगदबहादुर शाहीले महिलाले आफ्नो भाषा र व्यावहारिक रुपमा दिएको स्वास्थ्य शिक्षाको प्रभाव सकारात्मक परेको जनाए । जुम्लाका महिला स्वयंसेविकाको योगदानको बयान गर्दै उनले ‘सुनौला हजार दिन’ सञ्चार अभियान कार्यक्रम लागू भएका गाविसमा प्रभावकारी बन्दै गएको बताए । पुरुषहरु पनि यो कार्यक्रममा जानकार भए आमा र बच्चाको स्वास्थ्य अवस्थामा सुधार आउने उनको सुझाव थियो ।

तिला गाउँपालिका–३ कुडारी स्वास्थ्य चौकी इञ्चार्ज वीरेन्द्रप्रसाद उपाध्यायले यो कार्यक्रमले महिलामा जागरण आएको बताए । उनको अनुसार विगतभन्दा अहिले गर्भावास्थामा निरन्तर स्वास्थ्य चेकजाँच गर्नेको संख्यामा वृद्धि आएको छ ।

विशेष