विदेश

भारतमा डरलाग्दो रेल दुर्घटना, एउटा रेलमाथि अर्को रेल चढ्दा १० को मृत्यु, ५९ घाइते

भारतमा डरलाग्दो रेल दुर्घटना, एउटा रेलमाथि अर्को रेल चढ्दा १० को मृत्यु, ५९ घाइते

नयाँ दिल्ली । भारतको उत्तर प्रदेशको मुजफ्फरनगरको कलिंग–उत्कल एक्सप्रेसको रेल लिकबाट बाहिर उछिट्टिएर दुर्घटना भएको छ । मुजफ्फरनगरको खतौलीनजिकै सो रेल लिकबाट उछिट्टिएर पाँच वटा डिब्बा अर्को रेलमाथि चढ्दा यो भीषण दुर्घटना भएको हो ।

यो दुर्घटनामा परी मृत्यु भएका १० जनाको शव निकालिएको भएपनि अन्य कति जनाको मृत्यु भयो भन्ने बारेमा यो खबर तयार पार्दासम्म यकिन विवरण आइसकेको छैन । प्रशासनले समेत सो दुर्घटनामा परी मृत्यु हुनेको यकिन पुष्टि गरेको छैन । सो घटनामा ५९ घाइतेको उद्धार गरिएको छ ।

मुख्यमन्त्री योगी आदित्यनाथ यो घटनाबारे थप जानकारी लिन घटनास्थलमा नै गएका छन् । दिल्लीबाट एनडीआरएफको टोली र लखनउ, मेरठ र मुजफ्फरनगरबाट उद्दार टोली परिचालन गरिएको छ । शनिबार साँझ करिब ५ बजेर ५० मिनेटमा यो दुर्घटना भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । रेलमन्त्री सुरेश प्रभुले दुर्घटनाबारे छानविन गर्न र दोषीमाथि कडा कारबाही गर्न आदेश दिएका छन् ।

यसैबीच रेलमन्त्री प्रभुले आफूले व्यक्तिगत रुपमा पनि दुर्घटनाको निगरानी गरिरहेको बताएका छन् । उनले रेलवेका वरिष्ठ अधिकारीलाई घटनास्थलमा तत्कालै गएर राहत तथा उद्दार कार्य सञ्चालन गर्न निर्देशन दिएका छन् ।

भारतीय रेलका प्रवक्ता अनिल सक्सेनाले दुर्घटनामा मृत्यु भएका व्यक्तिहरुको संख्याका बारेमा यो कुनै आधिकारिक जानकारी आइनसकेको जनाएका छन् । उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले मुजफ्फरनगर दुर्घटना दुःखद भएको भन्दै घाइतेहरुको उचित उपचारको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन् ।

 

विशेष