पत्रकार महासंघको २५ औं महाधिवेशन राजधानीमा सुरु, प्रधानमन्त्री देउवाद्वारा उद्घाटन
काठमाडौं । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशन आजदेखि सुरु भएको छ ।
‘व्यवसायिक पत्रकारिताको आधार, प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नाराका साथ काठमाडौंमा महाधिवेशन सुरु भएको हो । महाधिवेशनको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् । महाधिवेशनमा भाग लिन देशभरबाट छानिएका १ हजार ५ सय प्रतिनिधि सहभागी भएका छन् ।
नयाँ नेतृत्वका लागि प्रत्येक ३ वर्षमा हुने महाधिवेशनले ४५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । पहिलोपटक संघीय संरचनाअनुसार नेतृत्व चयन गर्न लागेको महासंले महाधिवेशनमार्फत अध्यक्ष, २ उपाध्यक्ष, १ महासचिव, ५ सचिव, १ कोषाध्यक्षसहित ४५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गर्नेछ । त्यसैगरी, सात प्रदेशसहित उपत्यका, प्रतिष्ठान, एशोसिएटमा समेत नयाँ नेतृत्व आउनेछ ।
यस पटकको महाधिवेशनमा कांग्रेसनिकट प्रेस युनियन र माओवादी केन्द्रनिकट प्रेस सेन्टरबीच तालमेल भएको छ । यो गठबन्धनबाट सभापतिमा गोविन्द आचार्य उम्मेदवार भएका छन् भने एमालेनिकट प्रेस चौतारीबाट तीर्थ कोइराला अध्यक्षका उम्मेदवार बनेका छन् ।