कंगोमा भीषण पहिरो, मृत्यु हुनेको संख्या २०० पुग्यो
बुनिया । कंगोमा भीषण पहिरो गएको छ । पहिरोमा परी कम्तीमा पनि २०० जनाको ज्यान गएको छ ।
गत बिहीबार कंगोको इतुरी प्रान्तमा पहिरो गएको थियो । पहिरो शुक्रबारसम्म पनि बगिरहेको थियो । शनिबार उक्त पहिरोस्थलबाट २०० जनाको शव निकालिएको बताइएको छ । कंगोका उप गभर्नरले दिएको जानकारी अनुसार यहाँका तीन वटा गाउँमा बाढी र पहिरो आएको थियो ।
कम्तीमा पनि १०० घरका नागरिकले उक्त पहिरोमा ज्यान गुमाएका छन् । अरु हजारौँ घर परिवार विस्थापित भएका छन् ।
एउटा पहाडै खसेर गाउँलाई पुरेको थियो । बिहीबार सो दुर्घटना भएपछि शनिबारसम्म पनि पहाड खस्ने क्रम रोकिएको छैन, तर उद्धारकर्मी घटनास्थलमा शनिबारमात्र पुग्न सकेका थिए ।
शनिबार अपराह्न संयुक्त राष्टसंघीय उद्धार अधिकारी पनि पुगेका छन् । उनीहरुले सो गाउँ नै खतरमा रहेकाले सार्नुपर्ने सुझाव दिएका छन् ।
कंगोमा आन्तरिक द्वन्द्व तथा प्राकृतिक प्रकोपबाट ज्यान जाने नागरिकको संख्या बढ्दो रहेको छ । पछिल्लो समयमा यहाँ निकै धेरै नागरिकले ज्यान गुमाइरहेका बताइएको छ । रासस-सिन्ह्वा
congo