रात्रिक्लवमा महिलालाई कुट्ने मन्त्रीलाई हत्कडी, विरोधपछि दिए राजिनामा
काठमाडौं । दक्षिण अफ्रिकामा एक महिलालाई कुटपिट गरेको आरोप लागेपछि एक मन्त्रीले राजिनामा दिएका छन् । सप्ताहान्तमा राजधानी जोहान्सबर्गस्थित एक रात्रि क्लबमा पुगेका उच्च शिक्षा तथा तालिम उपमन्त्री मदुदुजि मनाना र एकजना महिलाबीच भनाभन भएको थियो ।
उपमन्त्री मनानाले आक्रोशमा आएर आफ्नो मर्यादाविपरीत उक्त महिलालाई अप्रत्याशित आक्रमण गरी जथाभावी कुटपिट गर्दा ठूलो होहल्ला हुन गएको थियो । यस घटनापश्चात् उपमन्त्री मनानाले पदबाट राजिनामा दिएका हुन् । उपमन्त्री मनाना सत्तारुढ दल अफ्रिकन नेशनल काँग्रेसका सदस्य हुन् । राजिनामा पत्रमा उनले आफ्नो गैरजिम्मेवार क्रियाकलापप्रति पश्चातापसहित राष्ट्रका नाममा क्षमायाचना गरेको जनाइएको छ ।
आफ्नो हीनतापूर्ण कार्यबाट सत्तारुढ दल अफ्रिकन नेशनल कांग्रेस र देशको मन्त्रीमण्डल समेतले लज्जाबोध गर्नु परेका कारण राजिनामा दिएको उनले स्वीकार गरेका छन् । मन्त्री पदबाट राजिनामा दिए पनि उनले संसद् सदस्यता भने त्याग गरेका छैनन् । उपमन्त्री मनानाको राजिनामा तत्कालै स्वीकृत गर्दै दक्षिण अफ्रिकी राष्ट्रपति ज्याकोब जुमाले हालसम्म आफ्नो कत्र्तब्य निर्वाह गरी सरकारलाई सहयोग गरेकोमा मनानालाई धन्यबाद दिभएको एक विज्ञप्तिमा जनाइएको छ ।
साथै, सत्तारुढ पार्टी अफ्रिकन नेशनल कांग्रेसले पनि उपमन्त्रीको राजिनामालाई ठीक कार्य गरेको ठहर गर्दै पार्टी प्रवक्ता जिजि कोद्वाले मनानालाई धन्यवाद दिएका छन् । महिलाको अपमान र कुटपिटको घटनापछि उपमन्त्री मनानालाई प्रहरीले नियन्त्रणमा लिई स्थानीय अदालतमा तुरुन्तै मुद्दा चलाएको थियो ।
अदालतमा पाँचहजार दक्षिण अफ्रिकी -यान्ड (तीनसय असी अमेरिकी डलर) धरौटी राखेपछि मात्र उपमन्त्री मनाना हिरासतमुक्त भएका थिए । आगामी सेप्टेम्बर १३ का दिन यस मुद्दाको सुनुवाई हुने भएकाले यस दिन उनी अदालतमा उपस्थित हुनु पर्नेछ ।