News

स्वामी प्रपन्नाचार्यको स्मृति ग्रन्थ सार्वजनिक

स्वामी प्रपन्नाचार्यको स्मृति ग्रन्थ सार्वजनिक

काठमाडौँ । डा.स्वामी प्रपन्नाचार्यले पूर्वीय दर्शनमा पुर्याउनुभएको योगदानबारे विभिन्न विद्वान्का लेख संग्रहसहितको स्मृति ग्रन्थ आइतबार सार्वजनिक गरिएको छ ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेले डा.प्रपन्नाचार्यको दोस्रो स्मृति दिवसका अवसरमा सो ग्रन्थ सार्वजनिक गरेका हुँन । राष्ट्रकवि घिमिरेले राई कुलमा जन्मेर पनि वेदको गहन अध्ययन गरेका प्रपन्नाचार्य किराँत महापुरुष भएको बताए ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले स्वामी प्रपन्नाचार्य समन्वयवादी धर्म गुरु, इतिहास, धर्म, संस्कृति, साहित्यका अध्येताका साथै राष्ट्रवादी सन्त भएको बताए ।

पूर्वसभामुख तारानाथ रानाभाटले अध्यात्मका गुरु प्रपन्नाचार्यलाई बेलैमा चिन्न नसकिएको सुनाए । भारतको राजस्थानबाट आउनुभएका कवीर पन्थका सन्त प्रभाकर साहेवले भारतीय भूमिमा पनि प्रपन्नाचार्यको छवि उच्च रहेको जानकारी गराए ।

संस्कृतिविद् सत्यमोहन जोशीले प्रपन्नाचार्य यस युगको महर्षि बनेका बताए । उनको स्मृतिमा विभिन्न व्यक्तित्वले लेख्नुभएको लेखको संकलनलाई संग्रह गरी स्मृति ग्रन्थ सार्वजनिक गरिएको प्रधान सम्पादक हरिप्रसाद सोडारीले बताए । कार्यक्रम डा स्वामी प्रपन्नाचार्य स्मृति ग्रन्थ लोकार्पण समितिले आयोजना गरेको हो ।

सो अवसरमा उनको उत्तराधिकारीका रुपमा वासुदेव प्रपन्नलाई घोषणा गरियो । वासुदेव प्रपन्न पनि ग्रन्थको सम्पादक हुुँन । अन्य सम्पादकमा डा मिलनकुमार थापा, शंकर पौडेल र केशर राई छन् ।

विसं २०७२ भदौ ४ गते स्वामी प्रपन्नाचार्यको पशुपतिस्थित मृगस्थलीमा निधन भएको थियो । उनका ‘वेदमा के छ रु’लगायत इतिहास, न्याय, साहित्य, दर्शन, कविता विधाका कृति प्रकाशित छन् ।

विशेष