दार्जिलिङको प्रहरी चौकीमा आक्रमण, एक प्रहरीको मृत्यु
दार्जिलिङ । दार्जिलिङमा शनिबार राति विस्फोट भएको छ । त्यसलगत्तै कालिङपोङको एक प्रहरी चौकीमा ग्रिनेट विस्फोट हुँदा एक प्रहरी जवानको मृत्यु भएको छ । अन्य केही प्रहरी घाइते भएका छन् । छुट्टै गोर्खाल्यान्डको माग राखेर दुई महिनादेखि चलिरहेको अनिश्चितकालीन आन्दोलनका क्रममा पहिलोपटक यहाँ विस्फोट भएको हो ।
प्रहरी अधिकारीका अनुसार शनिबार राति करिब ११ बजे अज्ञात समूहले ग्रिनेट प्रहरी चौकीलाई लक्षित गरी प्रहार गरेका थिए । दार्जिलिङका प्रहरी महानिरीक्षक मनोज बर्माका अनुसार प्रहरीचौकीमा ग्रिनेट विस्फोट हुँदा एक जवानको मृत्यु हुनुका साथै अर्का एक जना गम्भीर घाइते भएका छन् । विस्फोटसँगै सुरक्षाकर्मीले सो क्षेत्रलाई नियन्त्रणमा लिएर खोजतलास सुरु गरेका छन् । दार्जिलिङमा शक्तिशाली विस्फोट भएकै दिन ग्रिनेट हमला भएपछि सुरक्षा सतर्कता बढाइएको छ ।
दार्जिलिङको चोकबजार क्षेत्रमा पुलिस स्टेसनको २ सय मिटरको दूरीमा रहेको मोटर स्ट्यान्डमा शक्तिशाली विस्फोट भएको थियो । विस्फोटमा गोरखा जनमुक्ति मोर्चाको हात रहेको प्रहरीले आरोप लगाएको छ । दार्जिलिङका अतिरिक्त महानिर्देशक (कानुन व्यवस्था) अनुज शर्माले गोजमोका अध्यक्ष विमल गुरुङसहित चार नेताविरुद्ध मुद्दा दर्ता गरिएको बताएका छन् । उनले घटनाको छानबिन सुरु भएको र फरेन्सिक जाँचका लागि टोली त्यता पठाइएको छ ।
यद्यपि यस आरोपलाई गोजमोले खारेज गर्दै गोर्खाल्यान्ड आन्दोलनलाई दबाउन प्रहरीले नै चाल चलेको आरोप लगाएको छ । गाजमोका अध्यक्ष विमल गुरुङले आरोप कपोलकल्पित भएको र आधारहीन भएको बताएका छन् । गोर्खाल्यान्ड नचाहनेहरूले आन्दोलनलाई निस्तेज पार्न लागिएको कदम भएको उनले दाबी गरेका छन् । उनले राष्ट्रिय अनुसन्धान संस्थाको संलग्नता तथा सर्वोच्च अदालतको निगरानीमा एक छानबिन समिति निर्माण गर्न गृहमन्त्री राजनाथ सिंहसँग आग्रह गरेका छन् । गुरुङले गृहमन्त्री सिंहलाई पत्र लेख्दै यस्तो आग्रह गरेका हुन् ।
उनले अनुसन्धान नै सुरु नभई एफआईआर दर्ता भएको भन्दै आन्दोलनलाई बदनाम गराउने नियतले सरकारले नै विस्फोट गराएको हुन सक्ने बताएका छन् । शुक्रबार भएको विस्फोटमा त्यस क्षेत्रका पसलहरूमा क्षति पुगेका छ । घटनामा कुनै मानवीय क्षति नभए पनि सर्वसाधारणमा त्रास फैलिएको छ ।