सात डीआईजीको सरुवा, १५ को पदस्थापन, नवराज सिलवाल राष्ट्रिय सुरक्षा परिषदमा
काठमाडौं । सरकारले नेपाल प्रहरीका सात जना नायव महानिरीक्षक (डीआईजी) हरुको सरुवा गरेको छ भने १५ जनालाई पदस्थापन गरेको छ । डीआईजीहरुको सरुवा र पदस्थापन नभएको भन्दै अर्काे आलोचना भइरहेको बेला सरकारले आइतबार राति डीआईजीको पदस्थापन र सरुवा गरेको हो ।
सरुवामा आफूलाई महानिरीक्षक (आईजीपी) नबनाइएको भन्दै सर्वाेच्च अदालतमा मुद्धा दायर गरेका डीआईजी नवराज सिलवालसमेत परेका छन् । उनका ब्याचीहरु एआईजी भइसक्दा पनि उनी भने डीआईजी नै छन् । उनलाई राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा पठाइएको छ ।
यसैगरी सुदीप आचार्यलाई ट्राफिक निर्देशनालय, केदारमानसिंह भण्डारीलाई जुनिय प्रहरी अधिकृत शिक्षालय भरतपुर, रमेशकुमार भट्टराईलाई मानवस्रोत विभाग, गणेश केसीलाई महानगरीयक प्रहरी कार्यालय, मधु पुडासैनीलाई कार्यविभाग र रोमेन्द्रसिंह देउजालाई अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ ।
यसैगरी, डीआईजी सर्वेन्द्र खनाललाई ट्राफिक महाशाखा, रमेश खरेललाई सुरक्षा सेवा निर्देशनालय, पुष्कर कार्कीलाई सिआईबी प्रमुख, उत्तमकुमार कार्कीलाई अख्तियार, भोगबहादुर थापालाई प्रदेश प्रहरी कार्यालय प्रदेश नम्बर ३, पुष्कलराज रेग्मीलाई महिला तथा बालबालिका सेवा निर्देशनालय र पवन खरेललाई प्रबन्ध विभागको प्रमुखको जिम्मेवारी दिइएको छ ।
डीआईजीहरु छविलाल जोशीलाई प्रहरी प्रशिक्षण प्रतिष्ठान, मनोज न्यौपानेलाई महानिरीक्षकको सचिवालय, ज्ञानविक्रम शाहलाई प्रदेश प्रहरी कार्यालय प्रदेश नम्बर १, ठूले राईलाई लागूऔषध नियन्त्रण ब्युरो, शरद चन्दलाई प्रदेश प्रहरी कार्यालय, प्रदेश नम्बर ७, धिरु बस्नेतलाई अपराध अनुसन्धान विद्यालय, पुष्पचन्द्र रन्जितलाई प्रदेश प्रहरी कार्यालय प्रदेश नं ४ र सुरेशविक्रम शाहलाई प्रदेश प्रहरी कार्यालय प्रदेश नम्बर ६ मा सरुवा गरिएको छ ।