पत्रकारका संगठन ‘पार्टीका पुच्छर’ सम्बन्धमा दुई कुरा
काठमाडौं । अहिले नेपाल पत्रकार महासंघको महाधिवेसन भइरहेको छ । आज ( सोमबार) नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ । पत्रकार महासंघले सदैव उठाउँदै आएको विषय हो प्रेस स्वतन्त्रता । पत्रकारका संगठन सबै राजनीतिक पार्टीबाट सञ्चालित छन् । तर महासंघले बोक्न नछुटाउने विषय हो स्वतन्त्रता । पार्टीले जता जता भन्छ त्यतै त्यतै भोट हाल्नेहरुको स्वतन्त्रता हुने कुरा त भएन तर स्वतन्त्रताको कुरा सधै जोडिन्छ ।
हुन त पत्रकारका संगठनहरु कुनै पार्टीसँग निकट मात्रै भनेर नाक जोगाउने गरिरहेका छन् । कामले भातृ संगठन नै भए पनि नामैले भातृ संगठन भनिँदैन । एमाले निकट प्रेस चौतारी, कांग्रेसको शुभेच्छुक संस्था प्रेस युनियन, माओवादी निकट प्रेस सेन्टर लगायत संगठनहरु छन् ।
पत्रकारका संगठन पार्टीको इच्छाविपरीत चल्दै चल्दैनन् भन्ने उदाहरण बुझ्न प्रेस चौतारी र प्रेस सेन्टरबीचको समझदारी रोचक हुन सक्छ । यी दुई संगठनबीच पहिले नै दुई कार्यकाल चौतारीले अध्यक्ष पाएपछि तेस्रो पटकमा प्रेस सेन्टरलाई दिने भनिएको थियो ।
यसमा चौतारी पनि राजी थियो । तर ‘एमाले सक्नु पर्छ’ भन्ने कांग्रेस – माओवादीको साझा मिसन सञ्चालन भएपछि पत्रकारमा पनि त्यसको असर देखियो । कांग्रेस सभापति शेरबहादुर देउवाले ‘एमालेले धेरै पेल्यो’ भनिसकेका छन् । माओवादी अध्यक्ष प्रचण्डले पनि ‘एमाले ध्वस्त पार्न कांग्रेससँग मिलेको’ बताइसकेका छन् ।
अहिले कांग्रेसका पत्रकार र माओवादीका पत्रकारको गठबन्धन यो अधिवेशनमा बनेको छ । जबकी माओवादी निकट र कांग्रेस निकट पत्रकार मिलेर जाने कसैले सोचेको पनि थिएन । ‘स्वतन्त्र पत्रकार’हरुले पार्टीको आदेश मान्दा यस्तो गठबन्धन तयार भएको हो ।
नेपाल पत्रकार महासंघ आफैमा स्वतन्त्र र पत्रकारहरुको छाता संगठन हुनु पर्ने हो । तर खासमा यो संस्थाको नेतृत्व सधै पार्टीका इमान्दार कार्यकर्ताको हातमा पर्ने गर्छ । उदाहरणकालागि कुनै बेला प्रेस युनियनको तर्फबाट अध्यक्ष भएका धर्मेन्द्र झाको नाम संविधानसभाको दोस्रो निर्वाचनमा समानुपातिकतर्फ दर्ज थियो । पछि कांग्रेसले समानुपातिक सांसद बाँढ्दा झा अटाएनन् ।
अहिले प्रेस सेन्टर र चौतारीका साझा उम्मेदवार गोविन्द आचार्य त माओवादीको पोलिटब्यूरो सदस्य नै हुन भनेर बाहिर आइसकेका छ खबर । यद्यपि आचार्य पोलिटब्यूरो सदस्य हुन्, अरु चाहिँ राजनीतिमुक्त छन् भन्ने खोजिएको होइन । महासंघको निर्वाचनलाई प्रभावित पार्नु यो लेखको उद्देश्य पनि होइन ।
नेपाल पत्रकार महासंघको नेतृत्वमा जान एक कर्तव्यनिष्ट, व्यवसायिक पत्रकारका लागि अब सम्भव छैन । कुनै राजनीतिक दलको इमान्दार कार्यकर्ता नबनी त्यो पदमा बिराजमान हुन सम्भव छैन । कसैको ‘झोले पत्रकार’ नभइ महासंघको केन्द्रीय सदस्य हुन नै पनि सजिलो छैन ।
सार्वजनिक मञ्चहरुमा कुनै पत्रकारले बोल्ने अवसर पाए भने ऋषि धमलालाई विर्साउने गरी अधिकार, स्वतन्त्रता, प्रजातान्त्रिक मूल्य मान्यताबारे भाषण ठोक्छन् । तर अचम्म के छ भने प्रेस सेन्टरबाट महासचिव बनेका उजिर मगरले यसपटक अध्यक्षमा उम्मेदवारी दिएकै कारण उनलाई प्रेस सेन्टरले साधारण सदस्य समेत नरहने गरी कारबाही ठोकिदिएछ । प्रजातान्त्रिक मूल्य मान्यताको कुरा पनि गर्ने, चुनावमा भाग लिन खोज्दा कारबाही पनि गर्ने परिपाटी पत्रकारले पनि सिकिसकेका छन् राजनीतिक दलहरुबाट ।
यो पत्रकार महासंघ भनेको वास्तवमा व्यवसायिक श्रमजीवी पत्रकारहरुको संगठन नै रहने अब । किनभने यो महासंघमा पार्टीका कार्यकर्ता नै धेरै छन् । त्यो बाहेक ठेकेदार, कागज व्यापारी, प्रिन्टिङ प्रेस सञ्चालक, शिक्षक, प्राध्यापक, मिडियाका मालिक सबै छन् सदस्य । यसकारण पत्रकार महासंघ एउटा सामाजिक संस्था हो । जहाँ हरेक क्षेत्रका, सबै प्रकारका पृष्ठभूमि भएका मानिसहरु अटाउन सक्छन् ।
अस्ति भर्खर चुनाव भयो । त्यो चुनावमा कतिपय पत्रकार पनि विजयी भए । कोही पराजित भए । पराजित भए पनि विजयी भए पनि उनीहरुले न सदस्यता त्याग्नु पर्छ, न सदस्यता त्याग भनेर उनीहरुलाई कसैले भन्छ । कसैले त्यसो भन्नु भनेको त्यसले पत्रकरको राजनीति आफैले सक्नु हो । भन्नु पर्ने पत्रकारका नेताले नै हो । अरुले भनेर त के तातो लाग्छ ।
नेपाली पत्रकारीताबारे क्यानडामा बसेर शोध गरिरहनु भएका एकजना हुनुहुन्छ भानुभक्त आचार्य । उहाँले नेपाली पत्रकारीताबारे चोटिला तर्कसहित लेख, स्टाटस, ट्वीट गरिरहनु हुन्छ । बेथितीमा रमाइरहेका पत्रकारले त उहाँलाई खेदो खन्छन् । बेथितीमा रमाउने बानी परेपछि सबैलाई यस्तै हुँदो रहेछ । चकलेट, बिस्कुट, फ्रुटी खाएर सडकमा बोक्रा फाल्न बानी परेकाहरुलाई फोहोरको कन्टेनरसम्म पुर्याउँन बडो गाह्रो हुन्छ । सडकमै फाल्यो भने आनन्द हुन्छ । त्यस्तै हो बेथितीमा रमाउन बानी परेपछि पत्रकार महासंघको सदस्य पनि हुन मन लाग्छ, टिभी ब्रोडकास्टरहरुको सदस्य हुन मन पनि लाग्छ, उद्योग वाणिज्य महासंघको सदस्य हुन पनि मन लाग्छ । लोक लज्जा नहुने हो भने महिला संघको सदस्यता लिन पुरुषहरु पनि पुग्थे होला ।
अलि अघि माओवादी कार्यकर्ताहरु जेसिस, रोटरी, लायन्स जस्ता संस्थालाई बुर्जुवाहरुको संगठन भन्थे । अचेल त्यस्तै संस्थाको सदस्य भएर, टाइ सुट लगाएर सेल्फी खिच्छन अनि फेसबुकमा पोस्ट्याउँछन् । उनीहरु आफू पनि दारु मस्त पिउँथे । अनि प्रचण्डपुत्र प्रकास रक्सी खाएर कुर्सीमै ढलेको समाचार गलत हो भन्दै ढाकछोप पनि गर्थे । अचेल माओवादी कार्यकर्ताहरु धेरै सामाजिक भएका छन् । खुलेआम मदिरा पिउँछन् ।
पत्रकारीतामा राजनीतिक दल प्रवेश गरेपछि कहिलेकाही फाइदै हुन्छ । जस्तो कि पत्रकार सुरज आचार्यको मामिलामा अध्यक्ष महेन्द्र विष्टले राम्रै संरक्षण गरेको देखियो । यो फाइदाजनक पक्ष हो पत्रकार आचार्यको सवालमा ।
सरकारले सूचना विभागमार्फत करोडौ रुपैया पत्रपत्रिकालाई लोककल्याणकारी विज्ञापनको नाममा पैसा बाँडछ । त्यो पैशा पत्रकारको होइन मालिक अर्थात प्रकाशकको गोजीमा जान्छ । जसरी अहिले शेरबहादुर देउवाको अनुहार देख्दा निराशा मात्रै महशुस हुन्छ, सूचना विभागको विज्ञापनको कन्टेन्ट हेर्दा पनि ठिक त्यस्तै हुन्छ । लोककल्याणकारी विज्ञापन भनिएको हुन्छ, तर कन्टेन्ट चाहिँ ‘असल मानिस बनौं, समाजलाई योगदान गरौं’ टाइपका ताइ न तुइका विषय पत्रिकामा छापिन्छन् । त्यस्ता ‘तोरी’ सामाग्रीका लागि सरकारी कोषको वर्सेनि करोडौं उड्छ । यस्ता कुरा महत्वपूर्ण छन् तर उठाउनु पर्ने नेतृत्वले कहिले उठाउँदैन । किनभने यस्ता कुरा उठाउनुको मतलव हुन्छ, आफू सधैका लागि बस्नु ।
–याे टिप्पणी हाे ।