News

प्रम देउवाबाट बुधबारदेखि भारतको राजकीय भ्रमण हुने

प्रम देउवाबाट बुधबारदेखि भारतको राजकीय भ्रमण हुने

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा यही भदौ ७ देखि ११ गतेसम्म भारतको राजकीय भ्रमणमा जाँदै छन् ।

परराष्ट्र मन्त्रालयले सोमबार जनाएको छ । प्रधानमन्त्री देउवाका साथमा धर्मपत्नी डा.आरजु राणा, उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, मन्त्री, सांसद, सचिव तथा उच्च सरकारी अधिकारी रहने छन् । प्रधानमन्त्री देउवा भारत सरकारको विशिष्ट पाहुनाका रुपमा भारतीय राष्ट्रपति भवनमा बस्ने छन् ।

प्रधानमन्त्री देउवाको भदौ ८ गते भारतीय राष्ट्रपति भवनमा औपचारिक स्वागत हुनाका साथै उनले ‘गार्ड अफ अनर’ पनि ग्रहण गर्ने छन् । त्यसलगत्तै प्रधानमन्त्री देउवाले महात्मा गान्धीको समाधिस्थल राजघाट गई श्रद्धाञ्जलि अर्पण गर्ने छन् । सोही दिन प्रधानमन्त्री देउवाले भारतीय राष्ट्रपति रामनाथ कोविन्द र उपराष्ट्रपति एम वेंकैया नायडुसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने कायैक्रम रहेको छ ।

त्यसैगरी प्रधानमन्त्री देउवाले आफ्ना भारतीय समकक्षी मोदीसँग औपचारिक बैठक गर्ने छन् । भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवा र नेपाली प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्ने छन् । भ्रमणका दौरानमा प्रधानमन्त्री देउवासँग भारतका केही वरिष्ठ मन्त्रीले शिष्टाचार भेटवार्ता गर्ने छन् ।

प्रधानमन्त्री देउवाले आफ्नो सम्मानमा भारतस्थित नेपाली राजदूतावासले आयोजना गर्ने स्वागत कार्यक्रममा पनि सहभागी हुनाका साथै त्यहाँस्थित नेपाली समुदायसँग छुट्टै अन्तरक्रिया गर्ने छन् । त्यहाँ रहँदा उनले नेपाल–भारत विषयका जानकार तथा भारतीय व्यवसायीसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।

भ्रमणकै अवसरमा नेपाली प्रतिनिधिमण्डलका नेता प्रधानमन्त्री देउवाले भारतको तेलांगना, आन्ध्रप्रदेश र विहार राज्यको भ्रमणसमेत गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । उनी भदौ ११ गते स्वदेश फर्कने कार्यक्रम छ ।

गत जेठ २३ गते चौथो पटक प्रधानमन्त्रीमा निर्वाचित हुनुभएका नेपाली काँग्रेसका सभापति देउवाको पछिल्लो पटक प्रधानमन्त्री भएपछिको यो पहिलो विदेश भ्रमण हुनेछ । यसअघि उनले प्रधानमन्त्रीकै रुपमा तीन पटक भारतको औपचारिक भ्रमण गरिसकेका छन् ।

विशेष