News

रेडियो नेपाललाई अब देशभर सुन्न सकिने बनाउने

रेडियो नेपाललाई अब देशभर सुन्न सकिने बनाउने

साउन १८ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले रेडियो नेपाललाई देशभरका जनताले सुन्न सक्ने गरी विस्तार गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आज(बुधबार) रेडियो नेपाल कर्मचारी सङ्घले त्यहाँ आयोजना गरेको ‘आमसञ्चार नीति–२०७३ मा रेडियो नेपाल तथा श्रमिकहरुको भूमिका’ विषयक अन्तरक्रियामा उनले शत्प्रतिशत भू–भागका जनताले रेडियो नेपाललाई सुन्ने गरी विस्तार गरिने बताएका हुन् । अहिले रेडियो नेपाल ८८ प्रतिशत जनताले सुन्ने गरेका छन् ।

“भूकम्पको बेला प्रवाह भएको सूचनाले नेपाली जनताको मन जित्न सफल भएको रेडियो नेपाललाई के गरेर शत्प्रतिशत जनतामा सुन्न सक्ने गरी पु¥याउने सकिन्छ त्यसमा मेरो ध्यान केन्द्रीत हुनेछ”, मन्त्री बस्नेतले भने, “यसका लागि रेडियो नेपालले मन्त्रालयसँग समन्वय गरेरअघि बढ्नुपर्छ ।”

रेडियो नेपाललाई संघीय संरचनाअनुसार सातैवटै प्रदेशमा विस्तार गर्नुपर्ने सुझाब दिंदै उहाँले सार्वजनिक प्रसारण सेवाअन्तर्गत रेडियो नेपाल र नेपाल टेलिभिजनलाई लैजानुपर्नेमा पनि जोड दिए ।

सरकारी सञ्चारमध्याम मर्यादित भएपनि आत्मनिर्भर हुन नसकेकाले निजी सञ्चारमाध्यममा विकृति मौलाएको बताउँदै मन्त्री बस्नेतले जनतालाई सुसूचित गराउने यी सञ्चारमाध्यमको स्तरोन्नतिका लागि सक्दो सहयोग गर्ने धारणा व्यक्त गरे ।

उनले प्रसारण सेवामा जाँदा रेडियो नेपाल र नेपाल टेलिभिजनले आइपर्ने चुनौति सामना गर्नुपर्नेमा जोड दिँदै दुवै संस्थाको एकिकरण पछि कर्मचारीको व्यवस्थापन गरिने बताए ।

सञ्चारविज्ञ काशीराज दाहालले विपत् र भूकम्पमा रेडियो नेपालले निर्वाह गरेको भूमिकाबारे चर्चा गर्दै सार्वजनिक प्रसारण सेवाअन्तर्गत एउटै छातामा राखेर रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सञ्चालन गर्ने तयारी भइरहेको र यसका लागि ‘सार्वजनिक प्रसारण परिषद्’ गठन गर्ने तयारी भएको बताए ।

नेपाल पत्रकार महासङ्घका पूर्वसभापति धर्मेन्द्र झाले नेपालको भौगोलिक स्थितिअनुसार दुई संस्थालाई प्रसारण सेवाअन्तर्गत राख्नुपर्ने र कर्मचारी व्यवस्थापन नगरी प्रसारण सेवामा जाँदा समस्या हुने बताए ।

सञ्चार मन्त्रालयका सहसचिव रामचन्द्र ढकालले प्रसारण सेवामा जाँदा दुवै संस्थाको एकीकरण हुने भएकाले पहिलेको भन्दा गुणस्तरीय सेवा दिन सकिने बताए ।

रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कार्की र नेपाल टेलिभिजनका अध्यक्ष महेश दाहालले प्रसारण सेवामा लगेर दुवै संस्थालाई जनताका पक्षमा झन् बलियो सञ्चारमाध्यमका रुपमा विकास गर्न सकिने बताए । 

Radio Nepal

विशेष