परराष्ट्र मन्त्रीसँग तीन राजदूतको शिष्टाचार भेट
काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग युरोपेली सङ्घका राजदूत रिन्चे टिरिङले आज शिष्टाचार भेट गरेका छन् ।
परराष्ट्र मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरुबीच विकास सहायता एवं आपसी सम्बन्धका विषयमा छलफल भयो । सो अवसरमा परराष्ट्र मन्त्री महराले युरोपेली सङ्घले नेपालको विकासमा पुर्याएको सहयोगप्रति धन्यवाद व्यक्त गरे ।
शान्ति प्रक्रियाका कार्यभारहरु पूरा हुने अन्तिम चरणमा रहेको उल्लेख गर्दै उनले तीनै तहको निर्वाचन सम्पन्न भएपछि मुलुक आर्थिक विकास र समृद्धिको बाटोमा अगाडि बढ्ने बताएको मन्त्री महराका प्रेस संयोजक हरि लामिछानेले जानकारी दिए । सो अवसरमा राजदूत टिरिङले आफ्नो कार्यकालमा नेपालमा महत्वपूर्ण परिवर्तन भएको बताउँदै नयाँ संविधान कार्यान्वयन सकारात्मक तवरले अगाडि बढेको बताए ।
त्यसैगरी, परराष्ट्रमन्त्री महरासँग आजै नेपालका लागि इजराइली राजदूत यारोन मेयरले शिष्टाचार भेट गरे । मन्त्रालयमा भएको भेटवार्तामा दुई मुलुकबीच सम्बन्ध आपसी सहयोग तथा समझदारीका विषयमा छलफल भयो । सो अवसरमा परराष्ट्र मन्त्री महराले नेपाल र इजरायलबीच दुवै मुलुकको कुटनीतिक राहदानी बाहक नागरिकलाई एकअर्काको मुलुकमा प्रवेशाज्ञा दिने विषय प्रक्रियामा रहेको र यसलाई सकारात्मक रुपमा अगाडि बढाइने बताए ।
उनले इजरायल वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्यका रुपमा रहेको र वर्षेनी ४०० जनालाई साना किसानको माध्यमबाट तालिम उपलब्ध गराएको प्रति धन्यवाद दिए । राजदूत यारोनले पछिल्लो समयमा नेपाल सही दिशामा अगाडि बढेको उल्लेख गर्दै आर्थिक विकास र समृद्धिको बाटोमा निरन्तर सहयोग गर्ने विश्वास दिलाए ।
त्यस्तै, परराष्ट्र मन्त्री महरासँग नेपालका लागि इजिप्टका राजदूत बहेर नाबिल अब्देल फताह हेल्मीले आज शिष्टाचार भेट गरे । मन्त्रालयमा भएको भेटवार्तामा उहाँहरुबीच दुई देशबीचको सम्बन्ध तथा आपसी सहयोगका विषयमा छलफल भयो । सो अवसरमा परराष्ट्रमन्त्री महराले नेपाल–इजिप्टबीच घनिष्ट सम्बन्ध रहेको उल्लेख गर्दै आगामी दिनमा सम्बन्धमा अझै विस्तार भएर जाने बताए । उनले शैक्षिक क्षेत्रमा इजिप्टले पुर्याएको सहयोगप्रति धन्यवाद व्यक्त गरे ।
राजदूत हेल्मीले नेपालमा ठूलो परिवर्तन भइरहेको उल्लेख गर्दै दुई देशबीचको कूटनीतिक सम्बन्धलाई अझ विस्तार गर्नुपर्नेमा जोड दिए ।
Foreign Minister meeting