विदेश

दक्षिण एसियामा बाढीका कारण दुइ करोड चालीस लाख व्यक्ति प्रभावितः रेडक्रस

दक्षिण एसियामा बाढीका कारण दुइ करोड चालीस लाख व्यक्ति प्रभावितः रेडक्रस

जेनेभा (स्वीट्जरल्याण्ड) । दक्षिण एसियामा भएको व्यापक बर्षापछि आएको बाढीका कारण अगस्त महिनाभरमा कम्तीमा दुई करोड ४० लाख मानिस प्रभावित भएका अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीले मङ्गलबार जनाएको छ ।

बाढीका कारण उक्त क्षेत्रमा ठूलो भूभाग डुबानमा परेको छ । बङ्गलादेश, भारत र नेपालमा गरी अगस्त १० गतेपछि ७५० जनाको मृत्यु भएको सम्बन्धित देशका अधिकारीले जनाएका छन् । बर्षापछि आएको बाढी, पहिरो र डुवानका कारण ठूलो धनराशी बराबरको कृषिजन्य उत्पादनको क्षति भएको छ । 

एसियाली केही मुलुकमा बाढीका कारण अवस्था थप खराब बनिरहेको, रेडक्रसका सह महासचिव जगन चापागाईँले जारी एक विज्ञप्तिमा जनाइएकोे छ । नेपालको झण्डै एक तिहाई जनसङ्ख्या बाढीका कारण प्रभावित भएको, उनले सञ्चारकर्मीलाई बताए । उनले बङ्गलादेशमा पनि बाढीका कारण एक तिहाई जनसङ्ख्या प्रभावित भएको बताए । 

दक्षिण एसियामा बाढी तथा डुवानको समस्या केही दशक यताको तुलनामा सभैभन्दा नराम्रो भएको रेडक्रसले जनाएको छ । यी मुलुकका केही गाउँहरू डुवानमा परेका कारण खाद्यान्न तथा अन्य आधारभूत सामग्री डुङ्गाको सहायतामा पुर्याउनुपर्ने अवस्था आएको रेडक्रसले जनाएको छ । 

बाढी तथा डुवानको समस्या विस्तारै उत्तरबाट दक्षिणतर्फ बढेको बताउँदै चापागाईँले भन्नुभयो प्रभावितको सङ्ख्या प्रतिदिन बढ्दो अवस्थामा रहेको छ । मनसुन तथा पानीको यथोचित व्यवस्थापन नहुँदा समस्या विकराल बनेको उनको भनाई छ ।

रेडक्रसले नेपालमा ३६ लाख अमेरिकी डलर बराबरको सहयोगका लागि अन्तराष्ट्रिय समुदायसँग अपील गरेको छ । चापगाईँले यस्तै सहयोग भारत र बङ्गलादेशका लागि पनि अनुरोध गरेको छ । एएफ्पी

south asia red cross

विशेष