News

देउवा भारत पुगेपछि यस्तो आयो चीनको प्रतिक्रिया

देउवा भारत पुगेपछि यस्तो आयो चीनको प्रतिक्रिया

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएको केही समयमै प्रतिक्रिया जनाउँदै उत्तरी छिमेकी चीनले दुवै देशसँग नेपालको सम्बन्ध सुमधुर हुनुपर्ने बताएको छ ।

देउवाको भ्रमणलाई नजिकबाट नियालिरहेको उसले दुवै छिमेकीले नेपालको एकअर्काप्रतिको सम्बन्धमा विश्वास गर्नुपर्नेमा समेत जोड दिएको छ । प्रधानमन्त्री देउवा बुधबार भारतको राजकीय भ्रमणमा निस्केको केही घण्टापछि बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चीनले यस्तो धारणा राखेको हो ।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता ह्वा छुन यिङले नेपाल–चीन सम्बन्ध स्वस्थ र विकसित हुनुपर्ने औंल्याउँदै त्यस्तै सम्बन्ध भारतसँग हुँदा पनि चीन खुसी हुने बताइन्। ‘नेपाल–चीन सम्बन्ध शान्तिपूर्ण रूपमा अघि बढेको भारतले समेत हेर्न चाहेको हाम्रो विश्वास छ,’ उनले भनिन् ।

विगतमा नेपाल–भारतका विषयमा प्रायः नबोल्ने चीनले पछिल्ला भ्रमणबारे भने प्रतिक्रिया जनाउँदै आएको छ । भुटान–चीन सीमा दोक्लमको विषयलाई लिएर भारतले उपस्थिति देखाएपछि दुई देशबीच तनाव बढेको छ । यो अवस्थामा प्रधानमन्त्रीको भारत भ्रमणबारे चीनले गहिरिएर चासो राख्ने अडकल भइरहेका बेला चिनियाँ उपप्रधानमन्त्री वाङ याङले गतसाता गरेको नेपाल भ्रमणलाई समेत यही विषयसँग जोड्ने गरिएको छ ।

कान्तिपुर

विशेष