नेपालकै यस्तो ठाउँ, जहाँ गर्भवती महिलालाई डोरीमा झुन्ड्याइन्छ
पाँचथर । पाँचथरको हिलिहाङ–४ साबिक पञ्चमी–८ की एक सुत्केरी महिलाको समयमै जिल्ला अस्पताल पाँचथरमा ल्याउन सक्दा ज्यान बचेको छ । स्थानीयवासी २२ वर्षीया तारा लुवागुनलाई सुत्केरी व्यथा लागेका बेला छिमेकी लयप्रसाद संग्रौैला आफ्नो खेतमा पानी लगाउन गएको बेला घरमा कोही मानिसको होहल्ला सुनेर उनी पनि त्यतैतिर लागे । त्यहाँ उनले लुवागुनलाई केही महिलाले डोरीमा झुण्ड्याएर केहीले पछाडिबाट ठेल्दै त केहीले छेउ छेउबाट निचोर्दै गरेको देखेपछि उनले ‘यो के गरेको भनी सोध्दा’ त्यहाँ भएका महिलाले ‘यसलाई सुत्केरी गराउन लागेको’ भनेपछि संग्रौलाले उनलाई यसो गर्नु हुन्न यसो गर्नाले आमा र बच्चा दुवैको ज्यान जोखिममा हुन सक्छ, तुरुन्त जिल्ला अस्पताल लैजानुपर्छ भनी तत्काल सवारीसाधन समेतको व्यवस्था गरी स्वयंले लिएर आए ।
नियमित गर्भ जाँचसमेत गरेको बताउने लुवागुन सुत्केरी हुन् भने कसैले पनि अस्पताल जानुपर्छ नभनेको बरु हामीले कतिवटा बच्चा जन्मायाँै ? भन्दै स्थानीयवासीले घरमै बच्चा जन्मिन्छ भनेको उनी सुनाउँछन् ।
लुवागुन अहिले अस्पतालको शैयामा छन् । उनी छोरीका साथ बसिरहेका छन् । अहिले उनी भन्छन्, ‘धन्य छ, लय काकाले मलाई बचाउनुभयो । अरूले अस्पताल जानु पर्दैन यहीँ हुन्छ भनेपछि मैले डोरीमा झुण्डिएर बच्चा जन्माउन खोजें ।’
‘मैले केहीबेर ढिला गरेर देखेको भए यी महिला र बच्चा दुवैको ज्यान जोखिममा हुन सक्थ्यो,’ संग्रौैलाले भने, ‘हाम्रो समाजमा चेतनाको कमी त छँदै छ, तर यतिसारो पिछडिएकै छ भन्ने मलाई नै थाहा थिएन ।’
आर्थिकरुपमा समेत कमजोर र परिवारका अन्य सदस्यसमेत अपाङ्ग भएकी ती दलित महिलाका लागि संग्रौलकै पहलमा जिल्लामा आर्थिक सहयोगसमेत जुटेको छ । अहिले उनलाई विभिन्न स्रोतबाट करिब १५ हजारभन्दा बढीको सहयोग भएको तारा स्वयंले बताइन् ।