News

बाढीपिडितको लागि पत्रकार महासंघ काठमाडौको सहयोग

बाढीपिडितको लागि पत्रकार महासंघ काठमाडौको सहयोग

काठमाडौ । नेपाल पत्रकार महासंघ काठमाडौ शाखाले रौतहटका बाढीपिडितका लागि नगद तथा राहत सामाग्री प्रदान गर्ने भएको छ । 

शनिबार राजधानीमा शाखाले एक कार्यक्रमका आयोजना गरि नगद १ लाख २५ हजार रुपैँया र २५ बोरा नयाँ तथा पूराना लत्ताकपडा रौतहटका बाढीपिडितका लागि हस्तान्तरण गरेको हो ।

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शाखाका अध्यक्ष शन्तराम विडारीले नगद तथा सामाग्री नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गोविन्दप्रसाद चौलागाईंलाई हस्तान्तरण गरेका हुन् । रौतहट विकास गुठीका सदस्यसमेत रहेका चौलागाईं उक्त सामान लिएर भोली नै रौतहट जाने भएका छन् ।

कर्म लेक्सेलिङ्ग इन्टिच्यूटको संयोजन र शाखाको पहलमा नगद संकलन तथा सामाग्री संकलन भएको हो । कार्यक्रममा इन्टिच्यूटका प्रमुख डा. राजु गुरुङ्गले शाखा अध्यक्ष विडारीलाई सामाग्री तथा नगद हस्तान्तरण गर्दै पिडितसम्म छिटो भन्दा छिटो पुर्याउन आग्रह गरेका थिए ।

कार्यक्रममा काठमाडौ जिल्लाका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा, प्रेस काउन्सिल नेपालका सदस्य गोविन्द प्रसाद चौलागाईं, विश्व हिन्दु महासंघका महासचिव अस्मिता भण्डारी, वरिष्ठ पत्रकार बालकृष्ण बस्नेत, प्रेस चौतारी काठमाडौका उपाध्यक्ष विष्णु आचार्यलगायतको सहभागिता थियो । मधेश डुबानमा परेको बेला शाखाले यस्तो कार्यक्रम आयोजना गरेर अत्यन्त सह्रानीय काम गरेको प्रमुख आयुक्त बास्कोटाले बताए ।

त्यस्तै, प्रमुख जिल्ला अधिकारी शर्माले उक्त राहत वास्तविक पीडितसम्म पुग्नेमा आफूँ आशावादी रहेको बताउँदै पत्रकार महासंघसँग समन्वय गरेर काम गर्न तयार गरेको बताए । पत्रकार महासंघको केन्द्रीय सदस्य चौलागाईंले शाखाले आयोजना गरेको कार्यक्रम सबैका लागि उदाहरणीय भन्दै रौतहटमै उक्त राहत छुट्याएकोमा धन्यवाद प्रकट गर्दै संकलित आफूँले प्राप्त गरेको राहत सामाग्री भोली नै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको हातमा हस्तान्तरण गरेर सो सामाग्री पिडितहरुलाई वितरण गरिने कार्यक्रममा सदस्य चौलागाईंले बताए ।

शाखाको अध्यक्ष शन्तराम विडारीको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन शाखाका सचिव मोहन पन्तले सञ्चालन गरेका थिए ।

nepal journalist federation flood victim

विशेष