गीता ग्यासको चरम लापरबाही, सिलिन्डरको बीचबाटै ग्यास चुहियो
काठमाडौं । यो तस्बीरमा भएको रातो र नयाँ जस्तो देखिने ग्यास सिलिन्डर ध्यान दिएर होर्नुहोस त । यस्तो आकर्षक देखिन हेर्दै नयाँ झै लाग्ने ग्यास सिलिन्डरबाट एउटा परिवारकै ज्यान जोखिममा पर्न सक्छ भन्ने कसैले पनि कल्पना गर्दैन ।
तर, शनिबार राति १ बजे त्यस्तै भयो । बुढानिलकण्ठ कपन ११ स्थित युरो भिलेजमा रहेको डिल्लीप्रसाद दाहालको परिवारमा यही ग्यासका कारण निम्तिन लागेको विपत्ति तत्कालका लागि टरेको छ ।
गीता ग्यासको यो सिलिन्डरले दाहाल परिवारलाई रातभर सुत्न दिएन । राति १ बजे अचानक नाक फुट्ला झै गरी ग्यास गनायो । के भएछ भनेर हेर्दा भान्छामा ग्यास लिक भइरहेको रहेछ–दाहालले भने, ‘लिक पनि पाइप, रेगुलेटरबाट होइन, सिलिन्डरको जोडेको बीचबाट भएको रहेछ ।’
त्यस्तो अवस्थामा हतार हतार उनले छिमेकीको सहयोगमा सिलिन्डर बाहिर खुला स्थानमा लिएर गए । राती ३ बजेसम्म सिलिन्डरबाट लिक भइरहयो । २ घण्टामा सबै ग्यास सकिएपछि दाहाल र उनका छिमेकीहरु सुते ।
ग्यास लिक भइरहेको बेला घरमा कसैले लाइटर वा सलाई कोरेको भए दाहाल परिवारको के हुने थियो भन्न सकिन्न ।
सिलिन्डर सुरक्षीत छ छैन भन्ने थाहा पाउन बेला बेलामा हाइड्रोलिक टेस्ट गर्नु पर्ने हुन्छ । जसबाट सिलिन्डरको चाप वहन क्षमता थाहा हुन्छ । नेपालमा यो नियम त छ तर लागू गर्नेले गर्दैनन् । लागू भए नभएको जाँच गर्नेले पनि मतलव राख्दैनन् ।
गीता ग्यासका निर्देशक नरेश राज पौडेलले के भएको हो यसबारे आफूलाई थाहा नभएको र सिलिन्डरको प्राविधिक परीक्षणपछि मात्रै भन्न सक्ने बताए । उनले हाइड्रोलिक टेस्ट गरिने र मिति सकिएका सिलिन्डर हटाउने गरिएको दाबी गरे ।