News

भरतपुर अस्पतालमा डायलायसिस सेवा सुरु

भरतपुर अस्पतालमा डायलायसिस सेवा सुरु

चितवन । भरतपुर अस्पतालमा आइतबार (आज)देखि मिर्गौलाको डायलायसिस सेवा सुरु भएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्र मरासिनीकाअनुसार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो डायलायसिस गरेर सेवाको शुभारम्भ गरिएको हो ।

आफ्नी आमा लिएर आएका बालकृष्ण थपलियाले चितवन मेडिकल कलेजमा तीनपटक डायलासिस गरिएको बताउँदै आठ उपकरणमध्ये पाँच बिग्रिएपछि पालो नपाएर सरकारी अस्पताल आएको बताए ।

अस्पतालमा १२ उपकरण रहेकाले एकैपटक १२ जनाको मिर्गौलाको डायलासिस गर्न सकिनेछ । मरासिनीकाअनुसार सेवाका लागि ६ प्राविधिकले तालिम लिएर आइसकेका छन् । अन्य ६ जना तालिममा नै छन् ।

सुरुमा दुई चरणमा २४ जनाको डायलासिस गरिनेछ । थप प्राविधिक तालिम सकेर आएपछि दैनिक ३६ जनाको डायलासिस गरिने उनले बताए । ती उपकरण सरकारले खरिद गरिदिएको हो भने अन्य व्यवस्थापन अस्पताल विकास समितिले गरेको हो ।

समितिका अध्यक्ष राजकुमार राजभण्डारीले बिरामीले दुःख पाएकाले यसअघिका स्वास्थ्यमन्त्री गगनकुमार थापासँग विशेष आग्रह गरेर बजेट निकासा गरी काम अघि बढाइएको बताए ।

जिल्लाका विभिन्न अस्पतालमा थोरै बिरामीकोमात्र डायलायसिस हुने गरेको छ । राजभण्डारीकाअनुसार चितवनसहित छिमेकी जिल्लाका बिरामीलाई पनि सेवा दिन सकिनेछ ।

भरतपुरका दुई मेडिकल कलेजमा १४ र रत्ननगरको मिर्गौलारोग केन्द्रमा ६ ओटामात्र उपकरण छन् ।

निजी क्षेत्रका मेडिकल कलेजमा उपकरण बिग्रिरहने समस्याका कारण बिरामीले सास्ती व्यहोर्दैैै आएकाबेला सरकारी अस्पतालमा नयाँ उपकरणसहित डायलायसिस सेवा सुरु भएपछि बिरामी लाभान्वित हुने भएका छन् ।

Bharatpur hospital

विशेष