News

प्रधानमन्त्रीको भारत भ्रमण सफल : कावा सभापति निधि

प्रधानमन्त्रीको भारत भ्रमण सफल : कावा सभापति निधि

काठमाडौँ । नेपाली काँग्रेसका कार्यवाहक सभापति विमलेन्द्र निधिले प्रधानमन्त्री शेरबहादुर देउवाको भारतको राजकीय भ्रमण राजनीतिक, आर्थिक र कूटनीतिक रुपमा सफल भएको बताएका छन् ।

कार्यवाहक सभापति निधिले आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकारसम्मेलन आयोजना गरी प्रधानमन्त्री देउवाले गरेका छिमेकी मुलुक भारतको भ्रमण सबै दृष्टिकोणले सफल भएको दाबी गरे ।

“प्रधानमन्त्री देउवाको भारत भ्रमणले नेपाल–भारत सम्बन्ध राजनीतिक, आर्थिक र कूटनीतिक दृष्टिबाट सुदृढ भएको छ, भ्रमणले दुई देशको सम्बन्धलाई अझै बलियो बनाएको छ र विश्वासको वातावरण बढेको छ,” उनले भने । भ्रमणले दुई देशको सम्बन्ध पहिलेभन्दा थप सुदृढ भएको उनको भनाइ थियो ।

प्रधानमन्त्री देउवाले भारत भ्रमणका क्रममा संविधान कार्यान्वयन सम्बन्धमा दिएका अभिव्यक्तिबारे कार्यवाहक सभापति निधिले संविधानलाई सर्वस्वीकार्य बनाउन अन्तर्राष्ट्रियजगत्को समेत सहयोग चाहिने सन्दर्भमा अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्र, राष्ट्र र संविधानको पक्षमा प्रधानमन्त्रीको अभिव्यक्ति परिपक्व र सार्थक भएको स्पष्ट पारे ।

फरक प्रसङ्गमा कावा सभापति निधिले नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा संघीय प्रणाली हामीलाई मन परेको छैन भनेर भनेको कुरा सञ्चारमाध्यममा सार्वजनिक भएको भन्दै देशको आन्तरिक मामलाका बारेमा बोलेको भन्दै आपत्ति प्रकट गरे । उनले अध्यक्ष ओलीले चीनमा गएर बोलेको कुराले नेपालको शिर निहुर्याउने काम भएको टिप्पणी गरे ।

नेता निधिले एमालेका नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको उत्तर कोरिया भ्रमण नेपालको परराष्ट्र नीति विपरीत भएको आरोप लगाए । उनले नेपाल संयुक्त राष्ट्रसङ्घको सदस्य राष्ट्र भएकाले उत्तर कोरियामाथि संयुक्त राष्ट्रसङ्घले नाकाबन्दी गरेको बेला नेता नेपालले गरेका उत्तर कोरियाको भ्रमण परराष्ट्र मन्त्रालयको सुझाव विपरीत भएको बताए ।

विशेष