जब राजा र प्रधानमन्त्री सँगै सडकमा निस्किए
बर्सिलोना । गत साता स्पेनको बार्सिलोनामा १५ जनाको मृत्यु हुनुका साथै थुप्रै घाइते भएको आतंकवादी हमलाको विरोधमा भएको विशाल प्रदर्शनमा स्पेनका राजा समेत सहभागी भएका छन् । स्थानीय बासिन्दा र व्यापारीहरुले आक्रमणको विरोधमा निकालेको दशौं हजारको यो विशाल -यालीमा स्पेनी राजा फिलिपे छैठौं र प्रधानमन्त्री मारिआलो राखोयसमेत सहभागी भएका हुन् ।
प्रदर्शनकारीहरुले अघिल्तिरको पंक्तिमा ‘म डराएको छुइनँ’ लेखिएको ठूलो ब्यानर पछाडि दशौं हजार प्रदर्शनकारीले प्लेकार्ड बोकेका थिए । स्वायत्ताको माग गर्दै लामो समयदेखि भइरहेको संघर्षमा प्रयोग गरिँदै आएको क्याटालोनियाको सयौं झण्डाका पछाडि राजा र प्रधानमन्त्री समेत देखिएका हुन् ।
केही मुस्लिम समुदायका प्रदर्शनकारीले भने मुस्लिम समुदायसँग घुलमिल गर्न नरुचाउने कार्यको निन्दा गरिएको प्लेकार्ड समेत बोकेका थिए । क्याटालोनियाको विषयमा निर्णय गर्न आगामी अक्टोबरमा जनमत संग्रह गराउने खबर बाहिर आइरहेका बेला प्रदर्शनमा समेत सोही झण्डा प्रयोग गरिएको हो । प्रधानमन्त्री राखोयले क्याटालोनिया र स्पेनका बाँकी भाग आतंकवादविरुद्ध एकढिक्का रहेको देखाउन सबैलाई प्रदर्शनमा सहभागी हुने प्रोत्साहित गरेका थिए । अगस्ट १७ मा हिँडिरहेका मानिसहरुमाथि भ्यान कुदाउँदा १५ जनाको मृत्यु भएको थियो ।
सो आतंकवादी आक्रमणपछि बार्सिलोना अझै पनि शोकमा रहेको छ । आक्रमणको चरमपन्थी संगठन इस्लामिक स्टेट (आईएस) समूहले आक्रमणको जिम्मेवारी लिएको थियो ।
सन् १९७० को दशकमा स्पेनमा राजतन्त्र पुनर्बहालीपछि प्रदर्शनमा सहभागीता जनाउने फिलिपे छैठौं पहिलो राजा हुन् । सन् १९७५ मा तत्कालीन सैनिक तानाशाहको मृत्युपछि स्पेनमा राजतन्त्र पुनर्बहाली भएको थियो ।