News

सिद्धिचरण राजमार्गको मर्मतमा उदासीनता

सिद्धिचरण राजमार्गको मर्मतमा उदासीनता

उदयपुर । सगरमाथा अञ्चलका पहाडी जिल्लालाई तराईसँग जोड्ने सबैभन्दा छोटो सिद्धिचरण राजमार्ग साघुरो र जीर्ण बन्दै गएको छ । खोटाङ, ओखलढुंगा र सोलुखुम्बुवासीले प्रयोग गर्ने यो राजमार्गमा सवारी चाप दिनहुँ बढिरहे पनि लामो समयदेखि मर्मत सम्भार हुन सकेको छैन ।

उदयपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका लाखौँ जनताको आवागमन र दैनिक उपभोग्य सामग्री ढुवानी हुने सिद्धिचरण राजमार्गको स्तरोन्नति नगरिँदा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । दैनिक सयौँको संख्यामा सवारीसाधन आवतजावत गर्ने भिरको सडक एकातिर साँघुरो छ भने अर्कोतर्फ जीर्ण अवस्थामा छ ।

सिद्धिचरण राजमार्गअन्तर्गत उदयपुरको कटारीदेखि घुर्मीसम्मको सडक दुर्घटनाको हिसाबले संवेदनशील बनेको छ । करिब १८ वर्षअघि नेपाली सेनाले खोलेको साँघुरो बाटोलाई १० वर्षअघि वटासिल प्रविधिको कालोपत्रे गरिएको थियो । अहिले कालोपत्रे सडक भत्किएर धुले सडकमा परिणत भएको मात्र छैन, धुमाउरो र साँघुरोसमेत रहेकाले दुर्घटनाको जोखिम झनै बढाएको छ । सडकको खाल्टाखुल्टी र पहिरोलाई व्यवस्थापन गर्नेतर्फ समेत चासो देखाइएको छैन ।

हर्देनी गाविसको ठाँटी, लेखानीको लप्सेभिर, सिरिसेको वनदेवीलगायतका भिरमा यात्रा गर्दा यात्रुले आँखा चिम्लनु पर्ने अवस्था छ ।

सिरहाको मिर्चैयादेखि कटारीसम्मको करिब २६ किमी सडकसमेत जीर्ण रहेको छ । मारुती र कसमस सिमेन्ट उद्योगका लागि चुनढुंगा लिन जाने टिपर, दैनिक उपभोग्य र निर्माण सामग्री लिएर गुड्ने हेबी ट्रकले क्षमताभन्दा बढी सामान बोकेकाले सडक जीर्ण बनेको हो । सडकको स्तरोन्नतिका लागि स्थानीयवासीले पटक पटक माग गर्दै आएका छन् । तर सरकारी बेवास्ताका कारण अहिलेसम्म दिगो किसिमले सडकको स्तरोन्नति हुन सकेको छैन ।

सिमेन्ट उद्योगले स्तरोन्नतिका नाममा चुरेखण्डमा वन विनाश गरी फराकिलो पार्ने काम गरेको स्थानीयवासीले बताउँछन् । “खाल्टाखुल्टी पुर्ने र ठाउँठाउँमा सडक फराकिलो पार्ने काम भइरहेको छ”, स्थानीयवासी नरेशकुमार सार्कीले भने, “तर, यो दिगो समाधान भने होइन, वन विनाश गर्ने काममात्रै हो ।”

सडकका कारण पटक–पटक यातायातका साधन दुर्घटना भएर ठूलो जनधनको क्षति भइरहँदा पनि सडकको स्तरोन्नतिमा चासो नदेखाइँदा र लापरबाही गर्ने सवारी साधनमाथि नियमन निकायले कडाइ गरेको नदेखिँदा स्थानीयवासी छक्क परेको कटारीका पवन श्रेष्ठले बताए ।

“सडकको बाटो खुलेदेखि नै राजमार्गमा पटक–पटक दुर्घटना हुने गरेको छ”, लेखानी गाविसका रामकुमार खत्रीले बताए, “झन् अहिले त सवारी चाप पनि बढ्दै गयो, सडक पनि जीर्ण भयो, त्यसैले समस्यै समस्या छ ।”
“यो पहाड र तराईलाई जोड्ने महत्वपूर्ण राजमार्ग हो,” कटारी गाविसका पुराना समाजसेवी अर्जुनकुमार खड्का भन्छन् – “सगरमाथा अञ्चलका पहाडी जिल्लामा खाद्यान्न, इन्धन, दैनिक उपभोग्य तथा निर्माणका अन्य सामग्री ढुवानी हुने एकमात्र राजमार्ग भएकाले यसको संरक्षणमा सरकारको ध्यान जान जरुरी छ ।”

विशेष