प्रधानमन्त्रीको भारत भ्रमणबारे मिश्रित प्रतिक्रिया
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले हालै गरेका भारत भ्रमणलाई लिएर विभिन्न राजनीतिक दलका नेताको मिश्रित प्रतिक्रिया रहेको छ । सत्तारुढ दलका नेताले प्रधानमन्त्रीको भारत भ्रमणलाई सफल भएको बताएका छन् भने प्रतिपक्षी दलका नेताहरुले भारतमा गएर नेपालको आन्तरिक विषयमा बोलेको भन्दै आपत्ति जनाएका छन् ।
रिपोर्टर्स क्लब नेपालमा आज आयोजित कार्यक्रममा नेपाली काँग्रेसका नेता एवं प्रधानमन्त्रीको भ्रमण दलका सदस्य एनपी साउदले प्रधानमन्त्री देउवाको भारत भ्रमण ऐतिहासिकरुपमा सफल भएको विचार व्यक्त गरेका छन् ।
उनले भने, भारतले नेपालको प्रधानमन्त्रीको भारत भ्रमणलाई महत्व दिएको तथा उनलाई गरिएको आतिथ्य र सत्कारबाट पनि उक्त भ्रमण कस्तो रह्यो भन्ने स्पष्ट भएको बताए ।
प्रधानमन्त्रीको भारत भ्रमणको बेला भारतसँग विभिन्न आठ महत्वपूर्ण विषयमा सम्झौता भएको र यसले देशको आर्थिक हितलाई राम्रो प्रभाव पर्ने बताए । नेता साउदले प्रधानमन्त्रीले भारतसहित कुनै पनि मुलुकमा गएर देशको राष्ट्रिय मुद्दालाई स्पष्ट रुपमा कुरा राख्न पाउने र यसलाई अन्यथा लिन नहुने चर्चा गरे ।
नेकपा (एमाले)का नेता आनन्दप्रसाद पोखरेलले प्रधानमन्त्रीले नेपालको आन्तरिक मामिलालाई भारतमा लगेर सार्वजनिक गरेका भनि आरोप लगाएका छन् । उनले प्रधानमन्त्रीले कूटनीतिक मर्यादाविपरीत अभिव्यक्ति दिएको र गौतमबुद्ध तथा बुद्ध भूमिको बारेमा पनि विवादास्पद अभिव्यक्ति दिएको उल्लेख गरे । अर्को एक प्रसंगमा एमालेले प्रदेश नं २ मा कुनै पार्टीसँग तालमेल नगर्ने र चुनावमा पहिलो पार्टी हुने दाबी गरे ।
नेकपा(माओवादी केन्द्र)का नेता देवेन्द्र पौडेलले नेपालका केही राजनीतिक दलमा छिमेकी मुलुक भारतको विरोध गरेर राष्ट्रवादी भइन्छ भन्ने प्रवृत्ति बढेको बताए । उनले भारत र चीनसँग नयाँ शिरामा सम्बन्धको विकास गर्नुपर्ने आवश्यकता औँल्याए ।
अर्को प्रसंगमा उनले प्रदेश नं २ मा असोज २ को स्थानीय निर्वाचनमा आफ्नो पार्टी संघीय समाजवादी फोरम र राजपासँग तालमेल गर्ने पक्षमा रहेको जानकारी दिए ।