News

‘भारत भ्रमणमा आन्तरिक विषयमा बोल्नु गलत’

‘भारत भ्रमणमा आन्तरिक विषयमा बोल्नु गलत’

भक्तपुर । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारत भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले देशको आन्तरिक विषयमा बोलेर गलत गरेको टिप्पणी गरेका छन् ।

भक्तपुर नगरपालिकाले सोमबार आयोजना गरेको जनप्रतिनिधिका ‘१०० दिनको प्रगति सार्वजनिक’ कार्यक्रममा उनले भारतमा गएर नेपालको संविधान संशोधन गराउँछु भनेर बोल्नै हुन्थेन भने । “भारतमा पार्टी सभापतिको हैसियतमा बोल्न पाइन्छ तर देशको प्रधानमन्त्री भारतमा जाँदा देशको आन्तरिक विषयमा देशलाई असर पर्ने गरी बोल्नुहुँदैन”, सांसद बिजुक्छेले भने, “संविधानसभाले संविधान बनायो, संसद्ले संशोधन फेल गरायो तर प्रधानमन्त्रीले भारतमा गएर नेपालको संविधान जसरी पनि संशोधन गर्छु भन्नु नेपालको संसद्कै अपमान हुनु हो ।”

२५ शय्याको ख्वप अस्पताल संचालन तयारी
नगरपालिकाको १०० दिनको कार्यक्रममा प्रत्येक महिनाको १ र १५ गते नगरभित्रका सम्पदा र साँस्कृतिक क्षेत्रको बृहत् सरसफाइ अभियान सुरु गरिएको, घरघरमा फोहर राख्ने भाँडो वितरण गरिएको, कलासंस्कृतिको संरक्षणमा बजेट विनियोजन गरिएको, पुनःनिर्माण गर्नुपर्ने सम्पदाको लगत लिने काम भएको र गाईजात्रामा भएको प्रतियोगितामा विजयीलाई पुरस्कृत गरिएको छ ।

त्यसैगरी २५ शय्याको ख्वप अस्पताल संचालनको तयारी गरिएको, घरघरमा नर्सिंग सेवा पुर्याउन आजैदेखि स्टाफ नर्स र स्वास्थ्य स्वयंसेविका घरघरमा परिचालन गरिएको, नगरपालिकाद्वारा संचालित कलेज र विद्यालयमार्फत एक घर एक स्नातक अभियान पूरा गर्ने लक्ष्य लिइएको छ ।

कार्यक्रममा नगरपालिका उपप्रमुख रजनी जोशीले नगरलाई सम्मृद्ध बनाउन अभियान सुरु गरिएको बताए । स्थानीय विकास अधिकारी द्रोण पोखरेल, संस्कृतिविद् तेजेश्वरबाबु ग्वंग, इतिहासविद् पुरुषोत्तमलोचन श्रेष्ठलगायतले भक्तपुरको विकासमा सबैको सहयोग आवश्यक रहेको औँल्याए । त्यस अवसरमा वडा नं ३, ४ र ६ का वडाध्यक्षलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिनाका साथै गाईजात्रामा उत्कृष्ट हुने विभिन्न नाचलाई पुरस्कार प्रदान गरिएको थियो ।

विशेष