News

स्थानीय तहमा पुस्तकालय स्थापना गर्नुपर्नेमा जोड

स्थानीय तहमा पुस्तकालय स्थापना गर्नुपर्नेमा जोड

काठमाडौँ । प्रत्येक स्थानीय तहमा पुस्तकालयको स्थापना गर्नुपर्नेमा जोड दिइएको छ । नेपाल सामुदायिक पुस्तकालय संघले दशौँ पुस्तकालय दिवसका सन्दर्भमा आज आयोजना गरेको अन्तरक्रियामा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले स्थानीय तहमा पुस्तकालय स्थापनाका लागि आफूले संसद्मा विशेष प्रस्ताव लैजाने जानकारी गराए ।

बूढानीलकण्ठ नगरपालिका–१० का अध्यक्ष नवराज भट्टराईले मुलुकको समृद्धिका लागि शिक्षित समाज निर्माण गर्नुपर्ने भएकाले स्थानीय तहदेखि नै पुस्तकालयको विकास गर्नुपर्ने खाँचो रहेको जनाए ।

शिक्षा मन्त्रालयका उपसचिव यादवप्रसाद निरौला, रिड नेपालका अध्यक्ष भोलाकुमार श्रेष्ठ, संघका अध्यक्ष गणेशप्रसाद न्यौपानेलगायतले पुस्तकालयको दिगो विकासका लागि पुस्तकालय करको समेत व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

मुलुकमा अहिले पाल्पाको धवल पुस्तकालय, काठमाडौँको केशर पुस्तकालय, विशालनगर पुस्तकालय, केन्द्रीय पुस्तकालय, काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयलगायत करिब १२ हजार पुस्तकालय रहेको बताइएको छ ।

केही वर्षदेखि विद्युतीय पुस्तकालयको पनि अभ्यास शुरु भएको छ । पं केदारनाथ झालाई विसं १८६९ तत्कालीन राजा गीर्वाणयुद्धविक्रम शाहले दरबार र अन्य क्षेत्रमा रहेका पुस्तकको संरक्षण गर्न जिम्मेवारी दिएको दिनलाई स्मरण गरी विसं २०६५ भदौ १५ देखि मुलुकमा पुस्तकालय दिवसका रुपमा मनाउन थालिएको हो ।

विशेष