बलात्कारी बाबालाई १० वर्षको जेल सजाय
नयाँ दिल्ली । बलात्कारको आरोपमा पञ्चकुलाको सीबीआई अदालतले दोषी ठहर गरेका ‘डेरा सच्चा सौदा’का प्रमुख गुरमित राम रहिमलाई सोमबार १० वर्षको जेल सजाय सुनाइएको छ । सुरक्षाका कारण रोहतकको सुनारिया जेलमा बनाइएको अस्थायी अदालतमा न्यायाधीश जगदीप सिंहले राम रहिमलाई १० वर्षको सश्रम जेल सजाय सुनाएका हुन् ।
अदालतले राम रहिमलाई आईपीसीको धारा ३५४, ३७६, ५०६ र ५११ अनुसार सजाय सुनाएको हो । करिब १५ वर्ष पुरानो मुद्दामा फैसला गर्दै राम रहिममाथि तीन अलगअलग घटनामा ६५ हजार रुपैयाँ जरिवानासमेत गरिएको छ ।
फैसला सुनाएपछि उनी टाउको समातेर भुइँमा बस्दै रोएका थिए । यसपछि उनलाई अदालतको सो कोठाबाट जबर्जस्ती बाहिर निकालेर कैदीको पोसाक लगाई जेल पठाइएको थियो । डेरा सच्चा सौदाले सीबीआईको विशेष अदालतको फैसलाविरुद्ध पञ्जाव र हरियाणा उच्च अदालत जाने बताएको छ ।
फैसला सुनाउनुअघि सीबीआईले उनीमाथि कडाभन्दा कडा कारबाही हुनुपर्ने बताएको थियो भने राम रहिमका वकिलले उनले सामाजिक कार्य गरेको भन्दै नरम सजायको माग गरेका थिए । सजाय सुनाउनुअघि नै उनले अदालतका सामु माफी मागेका थिए ।
गुरमित राम रहिममाथि सन् २००२ मा एक अनुयायी महिलाले आफूमाथि बलात्कार गरेको भन्दै मुद्दा दर्ता गराएकी थिइन् । यो मुद्दाको लामो सुनुवाइपछि अदालतले २५ अगस्टमा राम रहिमलाई दोषी ठहर गरेको थियो ।
उनी दोषी ठहर भएलगत्तै उनका समर्थकले हरियाणासहित केही जिल्लामा हिंसात्मक प्रदर्शन गरेका थिए । सो हिंसामा परी कम्तीमा पनि ३८ जनाको मृत्यु भएको थियो भने सयौं घाइते भएका थिए ।
समर्थकहरूको हिंसात्मक प्रदर्शनबाट ठूलो क्षति भएपछि सुरक्षाको कारण जनाउँदै उनीमाथिको सजाय रोहतकको जेलमा नै सुनाइएको हो । यो फैसलाअघि पञ्चकुला सीबीआई अदालतका न्यायाधीश जगदीप सिंह हेलिकोप्टरबाट रोहतक पुगेका थिए ।
सुरक्षाका कारण सीबीआई अदालतका न्यायाधीशले हेलिकोप्टरबाट ४० मिनेटको यात्रा गर्नुपरेको थियो । राम रहिमबाट पीडित बनेका महिलाहरूको आरोपको पक्षमा हरियाणाको अदालतमा वकालत गरेका कानुन व्यवसायी बाएन्सले अभियुक्तमाथि थप सजाय हुनुपर्ने बताएका थिए ।
उनले भारतीय संघीय अदालतलाई धार्मिक नेता रहिममाथि लागेका दर्जनौं अन्य मुद्दामाथि पनि अनुसन्धान सुरु गर्न अनुरोध गरेको बताए । उनले भने, ‘हामी छिट्टै दुईवटा मुद्दा सुनुवाइका लागि अपिल गर्नेछौं ।’
आध्यात्मिक नेता रहिमका कारण ४८ महिला यौनहिंसाबाट पीडित बनेका र केहीलाई हत्यासमेत गरिएको हुन सक्ने बताइएको छ । केही रहिमविरुद्ध बोल्न डराएर प्रशासनमा नपुगेका सीबीआईका वकिलको दाबी छ ।
राम रहिम दोषी ठहर भएलगत्तै हरियाणासहित उत्तर प्रदेश, राजस्थान र दिल्लीमा समेत सुरक्षा व्यवस्था कडा पारिएको छ । उनीमाथि जेल सजाय सुनाएपछि थप हिंसा भड्किने आशंकामा प्रशासनले रोहतक, सिरसा र हरियाणामा सुरक्षा कडा पारेको हो ।
रोहतकको जेलबाहिर कसैले कुनै पनि संदिग्ध गतिविधि गरेमा सुरक्षाकर्मीलाई गोली चलाउने आदेश दिइएको थियो । भारतमा राम रहिमका समर्थकले मच्चाएको हिंसामा दोषी भएको भन्दै ५२ वटा मुद्दा दर्ता गरिएको छ भने ९ सय २६ लाई गिरफ्तार गरिएको छ ।
हरियाणा र सिरसामा सबैभन्दा ठूलो भौतिक तथा मानवीय क्षति पुगेको छ । हिंसालाई नियन्त्रणमा लिन कफ्र्यु आदेश जारी गरिए पनि त्यसलाई बेवास्ता गर्दै हिंसात्मक प्रदर्शन भएको थियो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले महिलामाथि गरेको हिंसाको निन्दा गरेका छन् । यद्यपि हरियाणा राज्यको समेत सत्तामा रहेको उनकै दल भारतीय जनता पार्टीले घटनाबारे केही नबोलेको भन्दै आलोचना भएको छ ।