विदेश

अन्ततः चीनसँग झुक्यो भारत,दोक्लमबाट सेना फर्कायो

अन्ततः चीनसँग झुक्यो भारत,दोक्लमबाट सेना फर्कायो

बेइजिङ । चिनियाँ विदेश मन्त्रालयले भारत र चीनबीचको सीमा क्षेत्र दोक्लामबाट भारतीय सेना उपकरणसहित पछि हटेको पुष्टि गरेको छ ।


विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनवींगले सोमबार विवादित दोक्लम क्षेत्र आसपासमा निरीक्षण गर्दा भारतीय सेना उपकरणसहित पछि हटेकोे पुष्टि गरेकी हुन् ।

सिन्ह्वा समाचार एजेन्सीका अनुसार प्रवक्ता चुनवींगले चिनियाँ अधिकारीले २ बजेर ३० मिनेटमा उक्त क्षेत्र आसपास निरीक्षण गर्दा भारतीय सेना उपकरणसहित पछि हटेको बताइन् ।

करिव एकमहिना लामो सीमा विवादपछि भारतीय सेना पछाडी हटेको पुष्टि गर्दै विदेश मन्त्रालयले भनेको छ, ‘ऐतिहासिक सीमा सन्धीअनुसार चीन आफ्नो क्षेत्रीय संप्रभुताको रक्षा गर्न आवश्यक कदम जारी राख्ने छ ।’

 गत जुन १८ मा २७० भन्दा बढी भारतीय शसस्त्र सीमा सुरक्षा बल दुईओटा बुलडोजरसहित दोक्लम सीमा नाघेर चिनियाँ भु–भागमा प्रवेशगरी चीनको विकाश गतिविधिमा अवरोध गरेको मन्त्रालयले उल्लेख गरेको छ ।

प्रवक्ता चुनवींगले दुईदेशबीचको सीमा विवाद अब कुटनीतिक वार्ताद्वारा शान्तिपुर्ण रुपमा समाधान गरिने बताएकी छन् ।यता, भारतीय विदेश मन्त्रालय भने केही महिनायता दुई देशबीच दोक्लामका विषयमा चलिरहेको विवाद समाधान गर्न दुबै देश दोक्लामबाट सेना हटाउन तयार भएको उल्लेख गरेको छ ।

दोक्लामका विषयमा भारत र चीनले हालैका दिनमा कूटनीतिकस्तरमा एकापसको चिन्ता र हितकाबारेमा छलफल गरेको र यसै आधारमा दोक्लाम विवाद कम गर्न सेना हटाउने फैसला लिएको विदेश मन्त्रालयले विज्ञप्ति निकाली जनाएको छ ।

दोक्लाम विवाद बढेपछि दुबै देशले सीमामा सुरक्षा फौजको तैनाथी बढाएका थिए । दोक्लाममा चीनले सडक बनाउन लागेकोमा भारतले विरोध गरेपछि विवाद बढेको थियो । दोक्लाम भारतको सिक्किम, भुटान र चीनको साझा सीमा क्षेत्र रहेको दाबी भरतले गर्दै आएको छ भने चीन दोक्लाम भुटानसँगको सीमा क्षेत्रमात्र भएको जिकिर गर्दछ ।

विशेष