बलात्कारी बाबालाई २० वर्ष जेल, पीडितलाई जनही १४ लाख दिनु पर्ने फैसला
काठमाडौं । भारतका विवादास्पद धर्मगुरु गुरमीत रामरहिम सिंहले २० वर्ष जेल सजायँ पाएका छन् । दुई वटा छुट्टाछुट्टै यौन शोषणको मुद्दामा दोषी पाइएपछि हरियाणाको विशेष अदालतले उनलाई २० वर्षको जेल सजायँ सुनाएको हो ।
बलात्कारको दुई मुद्दामा दश-दश वर्षको जेल सजायँ सुनाइएको हो । अदालतले दुबै बलात्कारको मुद्दामा १५-१५ लाख रुपैयाँ जरिवाना गर्ने फैसला पनि गरेको छ ।
जसमध्ये १४-१४ लाख रुपैयाँ दुबै मुद्दाका पीडितलाई दिन आदेश दिइएको छ । बलात्कार मुद्दामा दोषी पाइएका उनलाई हरियाणा रोहतकको सुनारिया जेलभित्रै खडा गरिएको विशेष अदालतमार्फत सजायँ सुनाइएको हो । रामरहिमका वकिलले भने पुनरावेदनका लागि सर्वोच्च अदातल जाने बताएका छन् । रहिममाथि हत्याको आरोपसमेत छ । जसको फैसला हुन बाँकी नै छ । भारत हरियाणाको धार्मिक संगठन डेरा सच्चा सौदाका प्रमुखसमेत रहेका रामरहीममाथि हत्या, बलात्कार तथा जवर्जस्ती परिवार नियोजन गराएकोसमेत आरोप लागेको थियो ।
सजायँ सुनाउनु अघिदेखि नै हरियाणाको सिरसामा भने सुरक्षा व्यवस्था कडा पारिएको छ । सम्भावित हिंसालाई मध्यनजर गर्दै हरियाणामा सुरक्षा व्यवस्था कडा पारिएको हो । हरियाणाका बजार पसल तथा सबै शैक्षिक संस्था बन्द छन् । इन्टरनेट पनि बन्द गरिएको छ । शैक्षिक संस्था र इन्टरनेट सेवा मंगलवारदेखि मात्रै खुल्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । १५ वर्ष पुरानो यौन शोषणको मुद्दामा अदालतले रहीमलाई दोषी ठहर गर्दै सजायँ सुनाएपछि उनका अनुयायीले आश्रम छोड्न थालेका छन् । अदालतले फैसलापछि उनका अनुयायीले भड्काएको हिंसामा परेर अहिलेसम्म ३८ जना मारिइएका छन् ।