फ्रूटी पिउँदै हुनुहुन्छ ? साबधान ! पहिलो यो पढ्नुहोस्
काठमाडौं । नेपालको प्रख्यात व्यापारिक घराना दुगड फुड एन्ड वेभरेज प्राइभेट लिमिटेडले उत्पादन गर्ने फ्रुटीमा म्याद नाघेको कच्चा पदार्थ प्रयोग गरिएको तथ्य सार्वजनिक भएको छ । उपभोक्ताको ज्यान जाने गरी म्याद सकिसकेको कच्चा पदार्थ प्रयोग गरी फ्रुटी उत्पादन गर्ने गरेको घटना सोमबार सार्वजनिक भएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौं र महानगरीय प्रहरी अपराध महाशाखाले संयुक्त रूपमा सतुंगलस्थित फ्रुटी उत्पादन गर्ने कारखानामा सोमबार छापा मारेको थियो। जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी (प्रजिअ) प्रेम लुइँटेल नेतृत्वको टोलीले उक्त कारखानामा छापा मारेको थियो। सहायक प्रजिअ लुइँटेलका अनुसार गोप्य सूचनाका आधारमा छापा मारिएको हो।
अनुगमन टोलीले कारखानामा डेढ महिनाअघि म्याद नाघिसकेको कच्चा पदार्थ कारखानाको उत्पादन स्थल र गोदामबाट बरामद गरेको थियो । ‘म्याद नाघिसकेको कच्चा पदार्थको समि श्रणबाट फ्रुटी तयार पार्दै गरेको अवस्थामा हामीले छापा मारेका हौं’, सहायक प्रजिअ लुइँटेलले भने, ‘मानव स्वास्थ्यमाथि खेलवाड हुने गरी प्रयोग गर्नै नहुने अखाद्य वस्तु प्रयोग भइरहेको अनुगमनका क्रममा फेला परेको छ ।’ म्याद नाघेको पदार्थ समिश्रण गरी तयार पारिने खाद्य वा पेयजन्य वस्तु सेवन गर्दा ज्यानै जाने जोखिम हुन्छ ।
अनुगमन टोलीले डेढ महिनाअघि म्याद नाघेको नेचुरल टोटापुरी म्याङ्गो पल्प (आँपको प्रशोधित गुदी) छापा मार्ने क्रममा भेटेको थियो। सन् २०१५ को जुलाईमा तयार भएको र दुई वर्ष म्याद भएको उक्त म्याङ्गो पल्पको प्रयोग गरी उद्योगले धमाधम फ्रुटी जुस तयार पारी बजारमा पठाउँदै आएको थियो। म्याङ्गो पल्प, पानी, चिनी, साइट्रिक एसिड, प्रिजेटिभ रसायन र एसिड रेगुलेटरको समिश्रण गरी फ्रुटी जुस तयार पारिन्छ । भारतको आन्ध्र प्रदेशको चित्तौर जिल्लास्थित श्री देवाराजा एग्रो फुड्स उद्योगबाट उत्पादित टोटापुरी म्याङ्गो पल्प म्याद नाघेको अवस्थामा उद्योगमा भेटिएको हो।
टोलीले उत्पादन स्थलबाट म्याद नाघेको दुई सय २३ किलो तौल भएको २३ ड्रम म्याङ्गो पल्प बरामद गरिएको थियो। यस्तै, कारखानाभन्दा तीन सय मिटर टाढा रहेको गोदाम घरबाट पनि म्याद नाघेको चार सय थान म्याङ्गो पल्पको ड्रम फेला पारिएको थियो। ‘म्याद नाघेको कच्चा पदार्थ प्रयोग गरी सर्वसाधारणको ज्यानै जाने गरी फ्रुटी उत्पादन गर्ने गरेको अनुगमनका क्रममा फेला र्पयो,’ महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीले भने, ‘जानाजान गुणस्तरहीन कच्चा पदार्थको समि श्रण गरी उपभोक्तालाई हानि गर्ने गरी उत्पादन बजार पठाएको तथ्य खुलेको छ । उद्योगीमाथि कडाभन्दा कडा कारबाही हुन्छ।’
जिल्ला प्रशासन कार्यालयका अनुसार उत्पादन स्थलबाट तयार भएर बजार पठाउने क्रममा रहेको डेढ लाख थान फ्रुटीको प्याकेट पनि बरामद गरिएको छ। म्याद नाघेको चार सय २३ म्याङ्गो पल्पको ड्रम र तयारी अवस्थाको फ्रुटीको सबै प्याकेट बरामद गरी प्रयोग र बिक्री(वितरणमा रोक लगाउँदै सिलबन्दी गरिएको छ। ‘उद्योगले म्याद नाघेको अखाद्य कच्चा पदार्थ समि श्रण गरी फ्रुटी तयार पारेको अभियोगमा उद्योगको सञ्चालनमा तत्कालका लागि सिलबन्दी गरी बन्द गरेका छौं,’ सहायक प्रजिअ लुइँटेलले भने, ‘सम्पूर्ण छानबिन गरेर कारबाही प्रक्रिया अघि बढेपछि कानुनअनुसार मात्रै उद्योग सञ्चालनको विषयमा विचार गर्छौं ।’
–अन्नपूर्ण पोस्ट्बाट