पैशा खुवाएर सम्बन्धन लिइएको मेडिकल कलेजको हालत यस्तो छ
काठमाडौं । समय मध्याह्न १ः४० बजे । घनाबस्ती रहेको घट्टेकुलो क्षेत्रका पसल, चोक र गल्लीमा मानिसको चहलपहल सधैंजस्तो सामान्य छ । बस्तीबीचमा ९ तले भवन । व्यस्त गल्लीमा हिँड्ने कोही त्यस भवनमा प्रवेश गर्दैन । भवनभित्र ती चोक र गल्लीमा देखिनेजति पनि चहलपहल छैन । यद्यपि यो राज्य प्रणालीले दैनिक सयौंको चहलपहल र उपचार हुने प्रमाणित गरेर सम्बन्धन दिएको काठमाडौं नेसनल मेडिकल कलेजको शिक्षण अस्पताल हो ।
स्रोतका अनुसार काठमाडौं नेसनलकै सञ्चालकको स्वमित्वमा वीरगन्जमा सञ्चालनमा रहेको नेसनल कलेजका इन्टर्न्सिप चिकित्सक काठमाडौं नेसनलमा ड्युटीमा खटाइएका छन् ।
सम्बन्धन पाएपछि पनि अस्पतालका सुनसान तस्बिर पत्रपत्रिकामा देखिन थालेपछि सञ्चालकले बिरामी बढाउने रणनीतिअनुसार भदौ १० मा विज्ञापन छापेर ‘निःशुल्क उपचारको अफर’ घोषणा गरे पनि अस्पतालमा बिरामी गएका छैनन् । अस्पतालले भदौ ३० सम्मका लागि जारी अफरमा ओपिडी, बेड शुल्कमा शतप्रतिशत, रेडियोलोजिकल परीक्षणमा ४० र प्रयोगशालाजन्य परीक्षणमा ५० प्रतिशत छुटको अफर घोषणा गरेको थियो । त्यसको केही दिनअघि मात्रै अस्पतालले डाक्टर÷नर्सका लागि विज्ञापन खोलेको थियो ।
बुधबार अपराह्न इमर्जेन्सी, ओपिडी र वार्डको भ्रमण गर्दा एक जना पनि विरामी थिएनन्, न डाक्टर नै थिए । अस्पतालका कुनै पनि वार्ड र ओपिडीमा डाक्टरको नेमप्लेटसम्म थिएन । अस्पतालमा १० जनाको हाराहारीमा एप्रोन लगाएका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी देखिन्थे । अस्पतालको इमर्जेन्सीमा एकजना नर्समात्रै थिइन् भने सम्पूर्ण विभागमध्ये नाक, कान, घाँटीको फ्याकल्टी कक्षमा तीनजना इन्टर्न चिकित्सक थिए ।
स्रोतका अनुसार काठमाडौं नेसनलकै सञ्चालकको स्वमित्वमा वीरगन्जमा सञ्चालनमा रहेको नेसनल कलेजका इन्टर्नसिप चिकित्सक काठमाडौं नेसनलमा ड्युटीमा खटाइएका छन् । ‘राति पनि तीनजनालाई ड्युटीमा राख्न थालिएको छ,’ एक इन्टर्न चिकित्सकले भने, ‘मेडिकल अफिसर पनि एकदुई जना थपिएका छन’ ।
नागरिक दैनिकबाट