News

वर्षापछि तीन दर्जन घर प्रभावित

वर्षापछि तीन दर्जन घर प्रभावित

साउन २० । गए रातिदेखिको अविरल वर्षाका कारण कैलाली जिल्लाका भजनी, घोडाघोडी, जानकीलगायत क्षेत्र जलमग्न हुँदा तीन दर्जनभन्दा बढी घरपरिवार प्रभावित भएका छन् ।

वर्षापछि स्थानीय कान्द्रा नदीमा बढेको पानी भजनी नगरपालिकाका कुटी, लालबोझी, भगतपुर र नयाँ बस्तीमा पसेपछि सो क्षेत्रका झण्डै १४ घरमा पानी पसेर क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । दुई सय जति घरमा आंशिक क्षति पुगेको छ ।

यस्तै घोडाघोडी नगरपालिकाका देउकलिया, चौरीटोल, रामशिखरझालालगायत क्षेत्रमा समेत झण्डै दुई दर्जन घरभित्र पानी पसेर क्षति पुगेको छ । प्रभावित क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।

वर्षासँगै कैलालीका नदीमा पानीको सतह खतराको चिह्नभन्दा माथि पुग्न सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन भनिएको प्रजिअ गोविन्दप्रसाद रिजालले बताए ।

अवरुद्ध सडकमा आवागमन

अविरल वर्षासँगै खसेको पहिराका कारण बिहीबार साँझदेखि अवरुद्ध धनगढी डडेलधुरा भीमदत्त राजमार्गमा आज बिहानदेखि आवागमन पुनःसञ्चालन भएको छ ।

वर्षासँगै राजमार्गको कैलाली भासुभिर सडकखण्डका दुई ठाउँमा पहिरो गएपछि गए राति आवागमन अवरुद्ध बनेको फलटुडे इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दानबहादुर रोकायाले बताए ।

सडक डिभिजनको स्काभेटरले रातिदेखि नै पहिरो पन्छाएपछि सडकमा आवागमन पुनःसञ्चालन भएको हो । अविरल वर्षासँगै सो सडकखण्डको अन्य केही ठाउँमा माथिबाट ढुंगा खसेर बाटो अवरुद्ध भएकामा प्रहरी टोलीले राति नै ढुंगा हटाएको थियो । अग्लो चुरे पहाडमा पर्ने भासुभिर राजमार्गको डरलाग्दो भीरका रुपमा रहेको छ । 

विशेष