पाकिस्तानमा २५ वर्षपछि हिन्दू मन्त्री
इस्लामाबाद/एजेन्सी– पाकिस्तानमा २५ वर्षपछि पहिलो पटक हिन्दू नेता केन्द्रीय मन्त्रिपरिषद्मा सामेल गरिएका छन् । सिन्ध प्रान्तबाट प्रतिनिधित्व गर्ने डा. दर्शन लाललाई नयाँ अन्तरिम प्रधानमन्त्री साहिद खकान अब्बासीले आफ्नो परिषद्मा राज्यमन्त्रीको जिम्मेवारी दिएका हुन् ।
अब्बासीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका थिए । नयाँ प्रधानमन्त्री अब्बासीले क्याबिनेटमा ६ जना नयाँ अनुहारलाई सामेल गरेका छन् । उनीहरू पूर्वप्रधानमन्त्री नवाज सरिफको मन्त्रिपरिषद्मा थिएनन् । जसमा दर्शन लालसमेत सामेल छन् ।
डा. दर्शन लाललाई पाकिस्तानका चार प्रान्त खैंबर पख्तन्ख्वा, पन्जाब, सिन्ध र बलुचिस्तानबीचको समन्वयको जिम्मेवारीसमेत दिइएको छ । सन् २०१३ मा उनले दोस्रो पटक नवाज सरिफको नेतृत्वमा रहेको पाकिस्तान मुस्लिम लिग–नवाज पार्टीको टिकटबाट अल्पसंख्यक कोटाबाट सांसद चुनिएका थिए ।
६५ वर्षीय डा. दर्शन सिन्ध प्रान्तको घोटकी जिल्लाको मिरपुर मथेलो सहरका स्थायी बासिन्दा हुन् । पाकिस्तानको नयाँ क्याबिनेटको गठन सन् २०१८ मा हुने आमनिर्वाचनलाई ध्यानमा दिएर गरिएको छ । क्याबिनेटमा मन्त्रीको संख्या करिब दुईगुणा गरिएको छ ।