ओबामालाई पाखण्डी भनेर गाली गरेका ट्रम्पले राष्ट्रपतिबाट छुट्टी लिँदै
वासिंगटन/एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अगस्टको गर्मीलाई छल्न आम नागरिकसरह छुट्टी लिएर बस्ने भएका छन् । यसअघि छुट्टीका विरोधीका रूपमा देखिएका उनले १७ दिन बिदा लिएर न्यु जर्सीको वेस्टमिन्स्टरस्थित आफ्नो निजी गल्फ क्लबमा बिताउन लागेका हुन् । उनले ह्वाइट हाउसबाट ‘वर्किङ भ्याकेसन’ का रूपमा छुट्टी लिन लागेका हुन् ।
आफूलाई कामबाट कहिल्यै पनि नथाक्ने व्यक्तिका रूपमा प्रचार गर्दै आएका ट्रम्पले आफैं दुई साताभन्दा लामो बिदामा बस्ने निर्णय गरेपछि आम जनतासमेत चकित भएका छन् । सन् २००४ मा प्रकाशित भएको आफ्नो पुस्तकमा उनले लेखेका थिए, ‘छुट्टी नलेऊ । यदि तिमी काममा आनन्द लिइरहेका छैनौं भने तिमीले गलत जाँगर गरिरहेका छौं ।’
उनको यो भनाइलाई मान्ने हो भने उनी अहिले अमेरिकी राष्ट्रपति पदमा समेत रमाइरहेका छैनन् भन्ने देखिन्छ । ह्वाइट हाउसका प्रवक्ता लिन्डसे वाल्टर्सका अनुसार ट्रम्पको बिदा पहिलेकै योजनाअनुसारको हो । जसअनुसार अगस्टमा हाउसको पश्चिमी भाग खाली गर्नु थियो । यसका साथै सबै कर्मचारीलाई समेत यो समयमा २७ वर्ष पुरानो भवनमा एयर कन्डिसन, भेन्टिलेसन प्रणाली परिवर्तन गर्न बिदा दिइने जनाइएको छ । सो भवनको मर्मत, रङरोगनका साथै पर्दा र पानी चुहावट रोक्न पनि यही समयमा काम हुने बताइएको छ ।
यदि उनको छुट्टीमा शनिबार र आइतबार जोड्ने हो भने १३ दिन छुट्टीमा रहनेछन् । जबकि पूर्वराष्ट्रपति ओबामा आठ दिन बिदामा बसेका थिए । चुनावका क्रममा भर्जिनियामा ट्रम्पले ओबामाले लिएको छुट्टीतर्फ इंगित गर्दै भनेका थिए, ‘म गल्फ खेल्न जान लागेको नभई तपार्इंहरूका लागि काम गर्न जान लागेको हो ।’
सन् २००९ को अगस्टमा लिएको छुट्टीको अलावा ओबामाले जरुरी कामका लागि अन्य दुईवटा छुट्टी लिएका थिए । एक छुट्टीमा एरिजोना र कोलोराडो भ्रमणमा गएका थिए भने अर्को छुट्टीमा उनले भ्यालेन्टाइन डे मनाउन लिएका थिए । यो छुट्टी चार दिनको थियो र त्यसमा उनी परिवारसँग सिकागो गएका थिए । यसअघि पनि ट्रम्पले ११ दिन वर्किङ भ्याकेसन लिएर पाम बिच, फ्लोरिडा र न्यु जर्सी गएका थिए भने जुनमा उनले मेरिल्यान्डस्थित राष्ट्रपतिका लागि निर्माण गरिएको क्याम्प डेभिडमा विकिन्ड मनाएका थिए ।
सन् २००८ मा लेखेको आफ्नो पुस्तक ‘द अडासिटी अफ होप’ मा ट्रम्पले ओबामालाई ‘पाखन्डी’ भन्दै तल्लो स्तरको शब्दले गाली गरेका थिए । उनले कुनै राष्ट्रपतिले छुट्टी लिन नहुने उनको भनाइ थियो । गत वर्षको नोभेम्बरमा ६० मिनेट लामो भाषणमा उनले आफूले धेरै काम गर्नुपर्ने भन्दै छुट्टी नलिने बताएका थिए । गत महिना उनले रिपब्लिकन सांसदलाई स्वास्थ्य सम्बन्धी कानुन ओबामा केयर असफल नबनाउन्जेलसम्म छुट्टी नलिन आग्रह गरेका थिए ।
यो कानुन उल्टाउने विधेयकलाई नै सिनेटले असफल बनाइदिएपछि उनको चाहना पूरा हुन सकेन । अमेरिकी संसद्ले ५ सेप्टेम्बरसम्म यसलाई स्थगित गरिदिएको छ । वेस्टमिन्स्टरमा राष्ट्रपति आउने भएपछि कडा पारिएको सुरक्षा व्यवस्थाका कारण आम जनताले हैरानी बेहोर्नुपरेको छ ।स्थानीय विमानस्थल २० अगस्टसम्म बन्द गरिएको छ । जहाँ ११० निजी र ६० स्कुले विद्यार्थीका विमान अवतरण हुने गर्छन् ।