News

लौ हेर्नुहोस्, जनताको पैसामा आयल निगमले किनेको जमिन

लौ हेर्नुहोस्, जनताको पैसामा आयल निगमले किनेको जमिन

साउन २१ । बिहीवार रातिदेखि अविरल पानी परेपछि भैरहवामा नेपाल आयल निगमले भुमाफिया र दलालसंगको मिलोमतोमा कागजी प्रकृया मिलाएर महङ्गोमा खरिद गरेको जमिन डुवानमा परेको छ । शुक्रवार बिहानै रोहीणी खोलाको बाढी हेर्न पुगेका धेरैले व्यङ्ग गर्दै भने ‘लौ रोहीणीको बाढीले नेपाल आयल निगमलाई बगाएछ, अर्को बाढीले पुरै बढार्न बेर छैन ।’

तेल भण्डारण गर्नका लागि भनेर निगमले असार २८ गते खरिद गरेको रोहीणी खोला किनाराको १४ बिगा भन्दा धेरै जमिनमा एक रातमैं परेको बर्षाको बढीले पुरै डुवाएको छ । पानी नपर्दा गाई चर्ने सम्पुर्ण चौर जलमग्न थिए ।

खोला किनारा छेउका अग्ला अग्ला रुख बाढीको पानीले ढाकिएर टुप्पामात्रै दखिन्थे । ‘खोलामा आएको बाढी हेर्दा मैले खोला र जमिन कता पर्छ ? छुट्याउनै सकिन’ बाढीको अवलोकन गर्ने क्रममा रोहिणी खोला किनार पुगेका रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बिनोद प्रकाश सिंहले भने, ‘बाढीले रुखका टुप्पा बाहेक केही देखिएन ।’

निगमले करिब ३२ करोड मुल्यमा खरिद गरेको जग्गामा यतिबेला रोहिणी खोलाको भेल उर्लिएको छ । बाढीको यस्तो जोखिम हुने स्थलमा तेल भण्डारण गर्नकालागि उपयुक्त स्थल भनेर निगमका उच्च पदस्थ कर्मचारी र पदाधिकारीले गर्दै आएको बचाउलाई शुक्रवार रोहीणीको बाढी हेरेका सयौं स्थानीयले निकै आलोचना गरे । भूमाफिया र जग्गा दलालको मिलोमतोमा राम्रो कमिशन पाएपछि निगमले गल्ती सच्याउनुको सट्टा बचाव गरेको ठहर स्थानियले गरेका छन् । निगमले बाढीलाई नियन्त्रण गर्न खोला किनारामा गर्ने भनेको तटबन्धले नजिकैको रोहीणी पुल र रोहीणी आसपासका बस्ती जोखिममा पर्ने दावी स्थानीयको छ ।

रोहिणीको बाढीको बहाव निगमले खरिद गरेको जग्गाभन्दा अझै अग्लो भूभाग र पुर्वतर्फ पुगेको छ । ‘यस्तो जोखिममा स्थानमा जग्गा खरिद गरेर निगमले ठुलो गल्ती गरेकाले तत्कालै बदर गरिनु पर्छ’ स्थानीय अगुवा प्रदीप पाण्डेले भने, ‘म यहीबाट रोहिणी क्षेत्रका जनताको तर्फबाट अपील गर्न चाहन्छु की यो जग्गामा कुनैपनि हालतमा निगमको भण्डारण हुनै सक्दैन ।’ यस ठाउँको जग्गा खरिद प्रकरणमा भुमाफिया र जग्गा दलालसंगको मिलोमतोमा करोडौं रुपैया राज्यको झ्वाम् पार्ने खेल भएको दावी उनले बताए ।

आयल निगमले जग्गा खरिद गर्दा जग्गा खरिद ऐन अनुसार नगरी सिधैं दलालमार्फत खरिद गरेको थियो । जग्गा खरिद गर्दा निगमले ३० करोड ४२ लाख २५ हजार मूल्य नगद भुक्तान गरेको छ । यद्यपी बर्षौंदेखिका बास्तविक जग्गा धनीले भने करिब ८ करोड रुपैया मात्रै पाएका छन् । निगमले खरिद गरेको मुल्यमा तेल भण्डारणका लागि उपयुक्त स्थल राजमार्गकैं आसपासका स्थलमा अब्बल जग्गा उपलब्ध गराईदिने स्थानीयले बताएका छन् ।

रोहिणी गाउँपालिका वडा नम्बर २ का निर्वा्चित अध्यक्ष सरोज कुमार पाण्डेले दलाल र भुमाफियासंगले पैसाको लागि मुलुकलाई नै रित्याउन सक्दा रहेछन् भन्ने प्रमाण अहिले निगमको लागि उनीहरुले बेचेको जग्गामा बाढीको भेलले प्रमाणित गरेको बताए । ‘यदि निगमलाई खोला आसपासकै जमिन तेल भण्डारणका लागि आवश्यक छ भने त्यही मुल्यमा राजमार्ग नजिकका बाढीको जोखिम नहुने अब्बल जमिन उपलब्ध गराउन सक्छौं’ पाण्डेले भने, ‘यदि अहिले खरिद गरेकै जमिनमा यस खालको बाढीलाई नियन्त्रण गर्न सक्ने गरि फेरी करोडौं रुपैयाँ खर्चेर तटबन्ध बनाउने हो भने आसपासका बस्ती डुबानले बच्दैनन् ।’
कान्तिपुर दैनिकबाट

विशेष