यी भाग्यमानी सैनिक अधिकृतहरु, जो नेशनल डिफेन्स कोर्षका लागि छानिए
काठमाडौं । नेपाली सेनामा अत्यन्तै महत्वपूर्ण मानिने नेशनल डिफेन्स कोर्स (एनडीसी) का लागि नौ जना उच्च अधिकृतहरु छनौट भएका छन् । सहायक रथीबाट उपरथीमा बढुवा हुनका लागि यो कोर्स अनिवार्य भएकाले यसलाई सेनाभित्र महत्वपूर्ण कोर्सका रुपमा लिने गरिन्छ । सेनामा सहायकरथीबाट उपरथीमा बढुवा हुन ५३ वर्ष उमेरभित्र यो कोर्स गर्नैपर्ने अनिवार्य प्रावधान छ ।
स्रोतका अनुसार, सहायक रथी निरञ्जन श्रेष्ठ यो कोर्सका लागि छनौट भएका छन् । उनी बेलायतका लागि छनौट भएका हुन् । यस्तै, महासेनानीहरु सहदेव खड्का र पंकज कार्की अमेरिकाका लागि र पे्रम शाही क्यानडा एनडीसी कोर्सका लागि छनौट भएका छन् ।
यसैगरी महासेनानीहरु विनय राणा, दीपक बानियाँ ,यम ढकाल र कृष्णदेव भट्ट चीनका लागि छनौट भएका छन् । महासेनानी बाबुराम श्रेष्ठ पाकिस्तानका लागि छानिएका छन् । भारत र बंगलादेशमा भने छनौट हुन बाँकी छ ।